आइसिसी टि–२० विश्वकपमा भारतले लागातार दोस्रो जित निकालेको छ । आइतबार राति न्युयोर्कमा भएको खेलमा १२० रनको झिनो योगफल डिफेन्ड गर्दै भारतले पाकिस्तानमाथि ६ रनको जित निकाल्यो ।
१२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले बनाएको ३१ रन सर्वाधिक रह्यो। उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
इमन वासिमले १५ तथा कप्तान बाबर आजम, उस्मान खान र फखर जमन समान १३ रन बनाए।
झिनो लक्ष्य डिफेन्ड गर्ने क्रममा जस्प्रित बुमराहले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १४ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, हार्दिक पाण्ड्याले २ तथा अर्शदीप सिंह र अक्षर पटेलले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारत १९ ओभरमा ११९ रनमा अल आउट भयो। एक समय ८९–३को बलियो अवस्थामा रहेको भारतले पछिल्ला ७ विकेट ३० रन बनाउँदा गुमाएको थियो।
भारतका लागि ऋषभ पन्तले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए। यस्तै, अक्षर पटेल २०, रोहित शर्मा १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
पाकिस्तानका नसिम साह र हरिस रौफले समान ३ विकेट लिँदा मोहम्मद आमिरले २ विकेट लिए
लखगतार दोस्रो जितपछि भारत समूह शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा भारतले आयरल्यान्डलाई हराएको थियो।
यता, लगातार दोस्रो हारपछि पाकिस्तानको सुपर ८ सम्भवाना कठीन बनेको छ। पहिलो खेलमा ऊ अमेरिकासँग पराजित भएको थियो। अब उसलाई सुपर ८मा पुग्न अमेरिकाले बाँकी दुवै खेल हार्नुपर्नेए छ भने आफूले पनि बाँकी दुई खेल फराकिलो अन्तरले जित्नु पर्ने छ।