भारत र अस्ट्रेलियाबीचको ‘बक्सिङ डे’ टेस्ट रोमाञ्चक मोडमा

29 Dec, 2024

मेलबर्नमा जारी भारत र अस्ट्रेलियाबीचको ‘बक्सिङ डे’ टेस्ट रोमाञ्चक मोडमा पुगेको छ।

चौथो दिनको खेलसकिँदा घरेलु टोली अस्ट्रेलियाले दोस्रो इनिङमा २२८–९ अवस्थामा छ। योसँगै उसले समग्रामा ३३३ रनको अग्रता कायम गरेको छ।

चौथो दिन नै भारतलाई ३६९ रनमा अलआउट गरेपछि आफ्नो दोस्रो इनिङ थालेको अस्ट्रेलियाका लागि नवौं विकेटका लागि नाथन लियोन र स्कट बोलान्डले ५५ रनको साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाएका हुन्।

लियोन ४१ र बोलान्ड १० रन बनाएर खेलिरहेका छन्। त्यसअघि उसका लागि मार्नस लामबुसेनले ७१ र कप्तान प्याट कमिन्सले ४१ रन बनाएका थिए। बलिङमा भारतका जसप्रित बुमराहले ४ तथा मोहम्मद सिराजले ३ विकेट लिए।

त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा स्टिभ स्मिथको शतक मद्दतमा ४७४ रन बनाएको थियो। उसका स्मिथले १४० रन बनाउँदा लाबुसेनले ७२, साम कोन्स्टासले ६०, उस्मान खावजाले ५७ र कमिन्सले ४९ रन बनाएका थिए।

बलिङमा भारतका बुमराहले ४, रविन्द्र जडेजाले ३ र आकाश दीपले २ विकेट लिएका थिए।

भारतले भने पहिलो इनिङमा नितिशकुमार रेड्डीको शतक मद्दतमा ३६९ रन बनाएको थि यो। रेडीले ११४ रन बनाउँदा यशस्वी जैसवालले ८२ र वासिङटन सुन्दरले ५० रन बनाएका थिए। बलिङमा अस्ट्रेलियाका कमिन्स, लियोन र बोलान्डले समान ३ विकेट लिए।