दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत विजयी भएको छ। चार खेलको सिरिजमा भारत ६१ रनले विजयी हुँदै १–०को अग्रता लिन सफल भएको हो।
टस हारेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले सञ्जु सामसनको १०७ रनको विस्फोटक इनिङ्सले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले १७ दशमलव ५ ओभरमा १४१ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा घरेलु टोलीलाई पहिलो ओभरमा अर्शदीप सिंहले पहिलो झटका दिएका थिए । उनले कप्तान एडेन मार्करामलाई आफ्नो शिकार बनाए। उनले आठ रन मात्रै बनाउन सके। यसपछि चौथो ओभरमा आवेश खानले ट्रिस्टन स्टब्सलाई आउट गरे।
उनी पनि ११ रन बनाएर प्याभिलियन फर्किए । यसबाहेक रायन रिक्लेटन पनि २१ रन बनाएर आउट भए । ४४ रनको स्कोरमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकालाई लामो र बलियो साझेदारीको खाँचो थियो । यस्तो अवस्थामा हेनरिक क्लासेन र डेभिड मिलरले जिम्मेवारी लिए । दुवैबीच चौथो विकेटका लागि ४२ रनको साझेदारी भएको थियो । जसलाई वरुण चक्रवर्तीले तोडेका थिए।
उनले एउटै ओभरमा दुवैलाई आउट गरे । क्लासेन २५ रन र मिलर १८ रन बनाएर आउट भए । यसबाहेक प्याट्रिक क्रुगरले एक, मार्को जेन्सेनले १२, एन्डिले सिमेलेनले ६, जेराल्ड कोएट्जीले २३, केशव महाराजले पाँच र पिटरले पाँच ८ रन बनाए । भारतका लागि वरुण र रवि बिश्नोईले तीन–तीन विकेट लिए भने आवेश खानले दुई विकेट लिए । अर्शदीप सिंहले एक विकेट हात पारेका थिए।
टस हारेर पहिले ब्याटिङमा आएको भारतीय टोलीले सामान्य सुरुवात गरेको थियो । सन्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि २४ रनको साझेदारी भएको थियो । कोट्जेले भारतको साझेदारी तोडेका थिए।
उनले ७ रन बनाएका अभिषेकलाई पहिलो विकेटको रुपमा आउट गरे । त्यसपछि सूर्यकुमार यादवले सञ्जुसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । कप्तान यादव १७ बलमा २१ रन बनाएर आउट भए । त्यसपछि तिलक वर्माले सामसनलाई साथ दिए । यी दुईबीच ७७ रनको साझेदारी भयो।
तिलक ३३ रन बनाएर आउट भए । विकेटकिपर ब्याट्सम्यान सामसनले ४७ बलमा शतक बनाए । उनको टी–२० अन्तर्राष्ट्रिय करियरको यो दोस्रो शतक हो । उनले लगातार दोस्रो खेलमा शतक प्रहार गरे।
भारतका लागि हार्दिक पाण्ड्याले २ रन, रिंकु सिंहले ११ रन, अक्षर पटेलले ७ रन, रवि बिश्नोईले एक रन र अर्शदीप सिंहले ५ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले ३ विकेट लिए । यसबाहेक मार्को जेनसेन, केशव महाराज, पिटर र क्रुगरले एक–एक विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुने छ।