भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जितेको छ। बुधबार साँझ कोलम्बोमा भएको अन्तिम खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले हराउँदै श्रीलंकाले ३ खेलको सिरिज २–०ले जितेको हो।
श्रीलंकाले भारतविरुद्ध २७ वर्षपछि एकदिवसीय सिरिज जितेको हो। सिरिजको पहिलो खेल बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा श्रीलंका ३२ रनले विजयी भएको थियो।
यो प्रशिक्षक सनथ जयसूर्या र कप्तान चरिथा अशलंका दुवैको पहिलो एकदिवसीय सिरिज थियो। तर, पहिलो सिरिजमै उनीहरूले २७ वर्षपछि श्रीलंकालाई सिरिज दिलाए।
पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा १३८ रनमै अलआउट भयो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३५, वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २० र रियान परागले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
भारतको इनिङ धरासायी बनाउने क्रममा दुनिथ वेल्लालागेले ५.१ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए। यस्तै, जेफ्रि भान्डेर्से र महिस थिक्सनाले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले ७ विकेटको क्षतिमा २४८ रन बनायो। उसका लागि अविस्का फर्नान्डोले १०२ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ९६ रन बनाए ।
यस्तै, कुशल मेन्डिसले ८४ बलमा ४ चौका प्रहार गर्दै ५९ रन बनाउँदा पाथुम निशंकाले ६५ बलमा ५ चौका र २ छक्का मद्दतमा ४५ रन बनाए। कामिन्डु मेन्डिसले १९ बलमा २३ रन बनाए।
बलिङमा भारतका रियान परागले ३ विकेट लिए। यो उनको एकदिवसीयको डेब्यू खेल हो। यस्तै, मोहम्मद सिराज, अक्षर पटेल, वासिङटन सुन्दर र कुलदीप यादवले समान १ विकेट लिए।