विश्वकपका लागि भारतीय टिम : चहल, रिषव र सन्जुको पुनरागमन, गिल, रिंकु र आभेष रिजर्भमा

30 Apr, 2024

आसन्न टि–२० विश्वकपका लागिका भारतीय टिमको घोषणा भएको छ। बिसिसिआईले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। टिममा हार्दिक पाण्ड्या उपकप्तान छन्।

विकेटकिपर ब्याट्सम्यानद्वय रिषव पन्त र सन्जु सामसन र स्पिनर युजभेन्द्र चहलले भारतीय टिममा लामोपछि पुनरागमन गरेका छन्। यी तीनै खेलाडीले आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकपको टिममा स्थान बनाएका छन्।

यस्तै, आईपिएलकै प्रदर्शनका आधारमा शिवम दुवे र अक्षर पटेलले पनि टिममा स्थान बनाएका छन्। दुवै अलरान्डर हुन्। तर, दुवे भने विशुद्ध ब्याट्सम्यानको रुपमा टिममा सामेल भएका हुन्।

यता, ओपनर शुभमन गिल, विकेटपिकर ब्याट्सम्यान केएल राहुल र ब्याट्सम्यान रिंकु सिंह तथा फास्टबलर आभेष खान भने टिममा अटाउन सकेनन्। यिनहरु विश्वकपको टिममा पर्ने चर्चा थियो।

भारतीइ टिममा रोहित शर्मा र जसस्वी जैसवाल ओपनरका रुपमा छन् भने तेस्रो ओपनरका रुपमा विराटन कोहली प्रयोग हुन सक्छन्। यस्तै, मिडअर्डर ब्याट्सम्यानका रुपमा सूर्यकुमार यादव, रिषव पन्त, सन्जु सामसान र शिवम दुवे छन्।

टिममा अलराउन्डरका रुपमा हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र अक्षर पटेल रहेका छन् भने स्पिनर कुलदीप यादव र युजभेन्द्र चहल छन्। टिममा फास्टबलरका रुपमा जसप्रित बुमराह, अर्शदीप सिंह र मोहम्मद सिराज छन्।

बिसिसीआईले शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आभेश खानलाई रिजर्भ खेलाडीका रुपमा राखेको छ।

अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा भारत क्यानडा, पाकिस्तान, आयरल्यान्ड र अमेरिकासँगै समूह एमा छन्। भारतले जुन ५मा क्यानडासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।