वाइआरसीसीले जित्यो इण्डो-नेपाल क्रिकेटको उपाधि

12 Apr, 2025

विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसीसीले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो।

विजेता वाईआरसीसीले नगद २ लाख १ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । यसअघि तेस्रो संस्करणको प्रतियोगितामा पनि वाईआरसीसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई हराएर उपाधि जितेको थियो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पटनाको टिम १६।३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । पटनाका लागि सुदर्शन कुमारले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बलको सामना गरेका थिए । त्यस्तै, पुरुषोत्तम कुमारले ६ बलमा १६ र नन्द किशोरले १६ बलमा ११ रन बनाए । टिमका अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सकेनन्।

वाईआरसीसीका बलरहरू हेमन्त धामी र राम नरेश गिरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । हेमन्तले ४ ओभरमा ३२ रन खर्चिए भने रामले ३।३ ओभरमा १३ रन दिएर तीन विकेट हात पारे।

१०२ रनको सामान्य लक्ष्य पछ्याएको वाईआरसीसीले मात्र ८ ओभरमा २ विकेट गुमाएर विजय हासिल ग¥यो । विजयमा टिमका स्टार ब्याट्सम्यान इमरान शेखले निर्णायक भूमिका निभाए । उनले ३२ बलमा ७२ रनको विस्फोटक अविजित पारी खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शनका लागि इमरान ’प्लेयर अफ द म्याच’ घोषित भए र नगद ३ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै, वाईआरसीसीका शुभ कंसकारले ७ बलमा १२ र लोकेस बलले ८ बलमा १६ रनको योगदान दिए । पटनाका बलरहरू रेहान दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिए ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा सम्पन्न यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमले सहभागिता जनाएका थिए।

प्रतियोगिताको वाइआरसीसीका नरेश गिरी उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २५ हजार रुपैयाा पाए । बेस्ट बलरमा होराइजनका दिपेश कडेल र बेस्ट ब्यटरमा पटनका कुमार श्रेय भए । उनीहरुले जनही नगद १५ हजार पाए।

विजता हुने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि क्रिकेट संघ नेपालको उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरेका थिए।