कोलकाता प्लेअफ नजिक, मुम्बईको सम्भावना सकियो

4 May, 2024

११ खेलमा ८औं हार व्यहोरेपछि ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स यो सिजन आईपिएलको प्लेअफमा नपुग्ने लगभग निश्चित जस्तै भएको छ। शुक्रबार राति घरेलु मैदानमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएपछि मुम्बईको प्लेअफ सम्भावना सकिएको हो।

कोलकाताले वानखडेमा १२ वर्षपछि मुम्बईलाई हराएको हो। मुम्बईलाई हराएसँगै कोलकाता भने प्लेअफ नजिक पुगेको छ। कोलकाता १० खेमला १४ अंक जोड्दै दोस्रो स्थानमा छ।

जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो।

सूर्यकुमार यादवले ५६ रन बनाएर मुम्बईको आश जगाए पनि उनी १६ औं ओभरमा आउट भए र मुम्बईको सम्भावना समाप्त भयो। उनले ३५ बलमा बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै, टिम डेविडले २० बलमा २४ र इशान किशानले १३ रन बनाए।

मुम्बईलाई अलआउट गर्ने क्रममा मिचेल स्टार्कले ४ विकेट लिए भने वरुण चक्रावर्ती, सुनिल नारिन र आन्द्रे रसेलले समान २ विकेट लिए।

पहिला ब्याटिङ गरेको कोलकाता अन्तिम बल बाँकी छँदा १६९ रनमा अलआउट भयो। पवार प्लेमै ४ विकेट गुमाएपछि वैंकटश ऐयर र मनिष पाण्डेले सम्हालिएको इनिङ खेलेपछि कोलकाताले प्रतिस्पर्धात्मक स्कोर बनाएको हो।

वैंकटेशले सर्वाधिक ७० रन बनाए । उनले ५२ बलमा ६ चौका र ६ छक्का प्रहार गरे भने मनिषले ३१ बलमा समान २ चौका र छक्का मद्दतमा ४२ रन बनाए। यी दुई पाँचौ विकेटका लागि ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

मुम्बईका लागि जसप्रित बुमराह र नुवान तुसाराले समान ३ विकेट लिए भने कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिए।