आईपिएलको फाइनल प्रवेशका लागि कोलकाता र हैदरावाद भीड्दै

21 May, 2024

आईपीएल २०२४ मा मंगलबारबाट प्लेअफका खेल सुरु हुँदै छन्। फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइर्डस र सनराइजर्स हैदरावाद भीड्ने छन्।

कोलकाता शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो भने सनराइजर्स दोस्रो हुँदै क्वालिफायरम पुगेको हो।

यही खेलमा आईपिएल इतिहासकै सबैभन्दा महँगा दुई अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क र प्याट कमिन्स आमनेसामने हुँदैछन्।

सनराइजर्स हैदराबादले आफ्ना कप्तान कमिन्सका लागि अक्सनमा २५ लाख डलर खर्चेको थियो । त्यो केही समयका लागि महँगा खेलाडीको कीर्तिमान थियो । लगत्तै कोलकाता नाइट राइडर्सले तीव्र गतिका बलर स्टार्कका लागि २९ लाख ८० हजार डलर खर्चेको थियो।

यो क्वालिफायर खेल गुमाउनेले एक अर्को मौका पाउनेछ । शुक्रबार तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्ने छन् । बेंगलुरु चौथोमा थियो । यसका विजेताले पहिलो क्वालिफायरमा पराजित टिमसँग अर्को इलिमिनेटर खेल्नेछ । फाइनल त्यो दिन हुनेछ, जसको ६ दिनपछि वेस्ट इन्डिज र अमेरिकामा ट्वान्टी–२० विश्वकप सुरु हुँदै छ ।

कमिन्सकै नेतृत्वमा अस्ट्रेलियाले अहमदाबादमै भएको ५० ओभरको विश्वकप फाइनलमा उपाधिका लागि भारतलाई हराएको थियो । यो सिजन हैदराबादले सर्वाधिक ठूलो आईपीएल स्कोरका लागि दुई नयाँ कीर्तिमान बनाएको छ । सुरुमा २ सय ७७ । लगत्तै २ सय ८७ रन ।

कोलकाता भने यसपालि सबैभन्दा उत्कृष्ट टिमको रूपमा अगाडि आएको छ । टोलीले लिग चरणका १४ खेलमा २० अंक बटुेलेको थियो । १० टिमसम्मिलित प्रतियोगितामा कोलकाता नै प्लेअफ पुग्ने पहिलो टिम थियो । यसै सिजन दिल्ली क्यापिटल्सविरुद्ध कोलकाताले ७ विकेटमा २ सय ७२ रन बनाएको थियो ।

यो हैदराबादका दुई इनिङ्सपछिको सर्वाधिक ठूलो तेस्रो स्कोर हो । सुरुमा स्टार्कको सुरुआत खासै राम्रो रहेन । तर विस्तारै उनको प्रदर्शनमा सुधार आयो । उनले लखनउ सुपर जायन्ट्सविरुद्ध पछिल्लो महिना ३८ रनमा तीन विकेट लिएका थिए । त्यसपछि वाङ्खडे स्टेडियममा ३३ रनमा ४ विकेट लिए मुम्बई इन्डियन्सविरुद्ध । विश्वकप अगाडि यो उनका लागि राम्रो तयारी रहनेछ ।

समग्रमा उनले १२ खेलमा १२ विकेट लिएका छन् । केही अवसरमा उनी निकै महँगो साबित पनि भएका छन् । ब्याटरलाई मद्दत गरिरहेको पिचमा उनले प्रतिओभर ११ रन दिइरहेका छन् ।

कमिन्सले भने १३ खेलमा १५ विकेट लिएका छन् । उनको सबैभन्दा उल्लेखनीय योगदान भने कप्तानीमा छ । हैदराबादले १४ खेलमध्ये आठमा जित निकालेको छ र कमिन्सले आफ्ना बलरलाई राम्रोसँग पालैपालो खेलाएका छन् । तल्लोक्रमको ब्याटरका रूपमा उनको योगदान पनि राम्रै छ ।

हैदराबादका लागि ओपनर ट्रेभिस हेडले पनि राम्रै गरिरहेका छन्। आक्रामक हेडले ५ सय ३३ रन बनाइसकेका छन् । त्यसमा एक शतक र चार अर्धशतक समावेश छ । सर्वाधिक रन बनाउने सूचीमा उनी तेस्रो स्थानमा छन्।

शीर्षमा भने बेंगलुरुका विराट कोहली छन् । उनले ७ सय ८ रन बनाएका छन् । बेंगलुरुले निर्णायक साबित खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई हराएपछि प्लेअफ पुगेको हो । लगातार जितिरहेको बेंगलुरुको यो प्रदर्शनले पहिलोपल्ट आईपीएल उपाधि जित्ने सम्भावना कायम छ ।