मुम्बई इन्डियन्समाथि बेंग्लुरूको १२ रनको रोमाञ्चक जित

8 Apr, 2025

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लुरू विजयी भएको छ। सोमबार राति वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा बेंग्लुरुले मुम्बई इन्डियसलाई १२ रनले हरायो।

बेंग्लुरुले १० वर्षपछि वानखेलडेमा मुम्बईलाई हराएको हो। यो जितसँगै आरसीबीले सिजनको तेस्रो जित दर्ता गरेको छ भने मुम्बईले पाँच खेलमा चौथो हार बेहोरेको छ।

टस जितेर पहिले बलिङ रोजेको आरसीबीले २० ओभरमा ५ विकेट गुमाएर २२१ रनको विशाल योगफल बनायो। उसका लागि विराट कोहलीले ४२ बलमा ६७ रन र कप्तान रजत पाटीदारले ६४ रनको अर्धशतकीय पारी खेले।

कोहलीले यो खेलमा टी–२० क्रिकेटमा १३ हजार रन पूरा गर्ने पहिलो भारतीय ब्याट्सम्यान बने। उनले ३८६ इनिङमा यो उलब्धि हासिल गरेका हुन्। उनले जसप्रित बुमराहको बलमा छक्का प्रहार गर्दै यो कोसेढुङ्गा हासिल गरे।

यस्तै जितेश शर्माले पनि अन्तिममा आक्रामक ब्याटिङ गर्दै टिमको स्कोरलाई बलियो बनाए। उनले १९ बलमा ४० रन बनाए।

बलिङमा मुम्बईका हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले समान २ विकेट लिए। चोटमुक्त हुँदै मैदान फर्किका बुमराह भने विकेटबिहीन रहे।

जवाफी ब्याटिङमा मुम्बईले ९ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि तिलक वर्माले ५६ रन र हार्दिक पाण्ड्याले ४२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। शीर्ष तीन ब्याट्सम्यान नचल्नु मुम्बईको हारको कारण बन्यो।

बलिङमा आरसिबीका क्रुनाल पाण्ड्याले ४ विकेट हात पारे। यो उनको आईपीएल करियरकै उत्कृष्ट प्रदर्शन हो। यस्तै, जोश ह्याजलवुड र यश दयालले समान २ विकेट लिए।

यो हारसँगै मुम्बई अंक तालिकाको आठौँ स्थानमा झरेको छ, र टिममाथि ठूलो दबाब बढेको छ। आरसीबी भने ४ खेलमा ३ जितसहित ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ।