दिल्लीको अपराजित यात्रा कायमै, बैंग्लुरू ६ विकेटले पराजित

11 Apr, 2025

आईपिएलमा दिल्ली क्यापिटल्सले आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म निरन्तता दिएको छ। बिहीबार राति भएको खेलमा दिल्ली रोयल च्यालेन्जर्स बेंग्लुरूलाई उसकै मैदानमा ६ विकेटले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो।

यो जितसँगै दिल्लीले चार खेलमा चौथो जित हासिल गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा आफूलाई बलियो बनाएको छ। बैंग्लुरूले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ। उ ६ अंकसहित तेस्रो स्थानमा छ।

दिल्लीको जिमा केएल राहुलले ५३ बलमा अविजित ९३ रनको उत्कृष्ट पारी खेले। उनको उत्कृष्ट ब्याटिङ मद्दतमा १६४ रनको मध्यम लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

दिल्लीको सुरुवात कमजोर रह्यो। पावरप्लेमा फाफ डु प्लेसिस, जेक फ्रेजर म्यागर्क र अभिषेक पोरेल आउट भएपछि दिल्ली ३३–३ को अवस्थामा पुगेको थियो।

तर, केएल राहुल र ट्रिस्टन स्टब्सले पाँचौँ विकेटका लागि १११ रनको साझेदारी गर्दै खेललाई दिल्लीको पक्षमा ल्याए। यो साझेदारी आईपीएलमा दिल्लीको पाँचौँ विकेटका लागि अहिलेसम्मकै सर्वाधिक हो।

राहुलले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे, भने स्टब्सले २३ बलमा अविजित ३८ रन बनाए। बलिङमा बैंग्लुरूका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए, तर टिमको स्कोर पर्याप्त भएन।

त्यसअघि टस हारेर पहिला बैंग्लुरूले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो। उसका ओपनर फिल सल्टले १७ बलमा ३७ रन बनाएर आक्रामक सुरुवात गरे। उनले मिचेल स्टार्कको तेस्रो ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै बैंग्लुरूलाई ३ ओभरमा ५३ रनको बलियो सुरुवात दिलाए।

यो बैंग्लुरूको आईपीएल इतिहासमा दोस्रो सबैभन्दा छिटो टिमको ५० रन थियो। तर, चौथो ओभरमा सल्ट रनआउट भएपछि बैंग्लुरूको ब्याटिङ लय बिग्रियो। बीचका १५ ओभरमा उनीहरूले मात्र ७४ रन बनाएर ७ विकेट गुमाए।

टिम डेभिडले अन्तिम दुई ओभरमा २० बलमा अविजित ३७ रन बनाए, जसमा ४ छक्का र २ चौका समावेश थियो, र टिमलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। दिल्लीका विप्रज निगम र कुलदीप यादवले समान २ विकेट लिए।