राजस्थानमाथि लखनऊको २ रनले रोमाञ्चक जित

20 Apr, 2025

आईपीएलमा लखनऊ सुपर जायन्ट्सले २ रनको रोमाञ्चक जित निकालेको छ। सवाई मानसिंह स्टेडियममा शनिबार राति भएको खेलमा लखनउले राजस्थान रोयल्समाथि रोमाञ्चक २ रनको जित निकालेको हो।

अन्तिम ओभरको नाटकीय मोडमा लखनऊका गेंदबाजहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई आफ्नो पक्षमा पारे। यो जितले लखनऊको प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ, भने राजस्थान लगातार तीन हारपछि अंक तालिकामा दबाबमा परेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो। एडेन मार्करमले ४५ बलमा ६६ रन (५ चौका, ३ छक्का) बनाउँदै इनिङ्सको आधार तयार पारे।

यस्तै, आयुष बडोनीले ३४ बलमा ५० रन (५ चौका, १ छक्का) जोडेर मार्करमसँग चौथो विकेटका लागि ७६ रनको महत्त्वपूर्ण साझेदारी गरे। यो साझेदारीले ५४–३ को अवस्थाबाट लखनऊलाई बलियो अस्थामा लगेको थियो। अन्तिम ओभरमा अब्दुल समदले संदीप शर्मामाथि आक्रमण गर्दै १० बलमा ३० रन बनाएर टिमको स्कोरलाई प्रतिस्पर्धी बनाए। सन्दीपको अन्तिम ओभरमा २७ रन बनेको थियो।

राजस्थानका लागि वानिन्दु हसरंगाले ४ ओभरमा ३१ रन दिएर २ विकेट भने जोफ्रा आर्चर, सन्दीप शर्मा, र तुषार देशपान्डेले समान १ विकेट लिए।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थानले १४ वर्षीय डेब्यूटेन्ट वैभव सूर्यवंशी र यशस्वी जैसवालको आक्रामक सुरुवात पायो। वैभवले पहिलो बलमै छक्का प्रहार गर्दै २० बलमा ३४ रन (२ चौका, ३ छक्का) बनाए। उनी आईपीएल इतिहासको सबैभन्दा कम उमेरको खेलाडी बनेका छन् ।

जैसवालले ५२ बलमा ७४ रन (७ चौका, २ छक्का) बनाए। यी दुईले ८.४ ओभरमा ८५ रनको ओपनिङ साझेदारी गरे। तर, वैभवलाई एडेन मार्करमले स्टम्पिङमार्फत आउट गरेपछि नीतिश राना नम्बर ३ मा आए, तर उनले मात्र ८ रन मात्र बनाउन सके।

कप्तान रियान परागले २६ बलमा ३९ रन जोडेर जैसवालसँग ६२ रनको साझेदारी गरे। र, टिमलाई जिततर्फ लगे । तर, १८औं ओभरमा जैसवाल र पराग दुवै आउट भएपछि खेल लखनऊको पक्षमा ढल्कियो।

अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा आवेश खानले शिमरन हेटमायर (१० रन) र शुभम दुबेलाई आउट गर्दै मात्र ६ रन दिए र टिमलाई २ रनको जित दिलाए। आवेशले ४ ओभरमा ३७ रन दिएर ३ विकेट लिए।

यो जितसँगै लखनऊ सुपर जायन्ट्स ८ खेलमा १० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स भने ८ खेलमा ४ अंकसहित आठौं स्थानमा छ।