पञ्जाब र दिल्लीको रोमाञ्चक खेल फ्लड लाइटको समस्याले रद्द, दिल्लीलाई घाटा

9 May, 2025

पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच इन्डियन प्रिमियर लिगमा बिहीबार धर्मशालामा भएको खेल ‘ठूलो प्राविधिक गडबडी’ का कारण रद्द भएको जनाइएको छ ।

टस जितेर ब्याटिङ गरेको पन्जाबले १०.१ ओभर खेलेपछि फ्लडलाइट निभ्दा थप खेल हुन सकेन। ‘बिजुलीमा अवरुद्ध हुँदा रंगशालाको एउटा टावरमा खराबी आएको छ, स्टेडियमभित्र रहेका सहभागीलाई पर्न गएको असुविधाप्रति माफी चाहन्छ,’ बीसीसीआईको आधिकारिक एक विज्ञप्तिमा भनिएको छ।

तर सुरक्षाका कारण खेल रोकिएको अर्को रिपोर्टमा जनाइएको छ। आईएएनएसले जनाएअनुसार आईपीएल प्रमुख अरुण धुमलले जम्मुमा जारी ‘रेड अलर्ट’ को आधारमा सावधानी अपनाउन यस्तो निर्णय गरिएको जनाएका छन् ।

फ्लडलाइटका कारण खेल रद्द भएको पहिला भनिए पनि पछि दर्शकलाई सुरक्षाका लागि रंगशाला बाहिर निकालिएको जनाइएको थियो ।

पीटीआईका अनुसार सोही कारण जम्मु नजिकको क्षेत्रहरूमा हवाई आक्रमणको हवाई अलर्टपछि खेल रद्द गर्नुपरेको थियो । जम्मुसहित भारतको पन्जाव राज्यका पहाडी सहरहरूमा ‘ब्ल्याकआउट’ गरिएको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा १५ मिनेट ढिला टस भएको थियो । त्यसपछि भने पन्जाबका ओपनर प्रियांश अर्या र प्रभसिमरन सिंहले शतकीय साझेदारी गरेर उत्कृष्ट सुरुआत दिलाएका थिए। अर्या ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७० रनमा आउट भएलगत्तै फ्लडलाइटमा समस्या आएपछि खेल रोकिएको थियो । अर्का ओपनर सिंह २८ बल खेल्दै ७ चौका प्रहार गरी ५० रन बनाई क्रिजमा थिए।

खेल सुरु हुनु अगाडिमात्र पन्जाब र मुम्बई इन्डियन्सबीच आइतबार धर्मशालामै हुने खेल अहमदाबादमा सारिएको थियो । आईपीएलले यस खेलका लागि व्यवस्थापकीय चुनौती भएको जनाएको छ ।