राजस्थान रोयल्सले आईपिएलको यो सिजनको अन्त्य सुखद् गरेको छ। यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको राजस्थानले लिगको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै जितका लागि सिजनको अन्त्य गरेको हो।
यता, यो हारपछि चेन्नईको सिजनको सबैभन्दा खराब रुपमा अन्त्य हुने भएको छ। यो हारले ऊ आईपिएलमा पहिलो पटक पुछारमा रहने पक्का भएको छ। १ खेल बाँकी रहेपछि रनरेट निकै खराब रहेकाले ऊ पुछारमै रहने पक्का जस्तै छ।
१८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि युवा ओपनर वैभव सूर्यवंशीले अर्धशतक बनाए। उनले ३३ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५७ रन बनाए। यस्तै, कप्तान सन्जु सामसनले ४१ र जसस्वी जैसवालले ३६ रन बनाए। ध्रुव जुरेलले अन्त्यतिर १२ बलमा ३१ रनको विस्फोटक पारी खेले।
बलिङमा चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए भने अंशुल कम्बोज र नूर अहमदले पनि समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको चेन्नई राम्रो फिनिसिङ गर्न नसक्दा ८ विकेटको क्षतिमा १८७ रनमै रोकिएको थियो। उसले अन्तिम ३ ओभरमा १७ रन मात्र बनाउन सकेको थियो। उस लाडि डेबल्ड ब्रेविसले २५ बलमा २ चौका र ३ छक्का मद्दतमा ४२ र बनाउँदा शिवम दुवेले ३२ बलमा ३९ रन बनाए।
बलिङमा राजस्थानका आकाश मधवाल र युधवीर सिंहले समान ३ विकेट लिए। युधवीरले सुरुआत र मधवालले डेथ आभरमा उत्कृष्ट बलिङ गरेका थिए।
