हाईस्कोरिङ रोमाञ्चक म्याचमा गुजराजमाथि पञ्जाबको जित, श्रेयसले खेले कप्तानी पारी

26 Mar, 2025

कप्तान श्रेयस ऐयरले काप्तानी पारी खेलेपछि आईपिएलमा पञ्जाब किंग्सले विजयी सुरुआत गरेको छ। अहमदावासमा भएका हाईस्कोरिङ म्याचमा श्रेयसले ९७ रनको पारी खेलेपछि पञ्जाबले गुजरात टाइटन्समाथि ११ रनको जित निकाल्यो।

२४४ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले ५ विकेटको क्षतिमा २३२ रन बनाएको थियो। १४ ओभरमा १६९–२को बलियो अवस्थामा गुजरात थियो, तर त्यसपछि पञ्जाबले उत्कृष्ट बलिङ गर्दै खेल आफ्नो पक्षम बनाएको थियो।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ७४ रन बनाए। उनले ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै, जोश बट्लरले ३३ बलमा ५४ रन बनाउँदा शेरफान रथरफोर्डले २८ बलमा ४६ र कप्तान शुभमन गिलले १४ बलमा ३३ रनको इनिङ खेले।

बलिङमा पञ्जाबका अर्शदीप सिंहले २ तथा मार्को यान्सन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २४३ रन बनाएको थियो। उसका लागि कप्तान श्रेयसले ४२ बलमा ५ चौका र ९ छक्का मद्दतमा नटआउट ९७ रन बनाएका थिए। यस्तै, डेब्यू खेलाडी प्रियंश आर्याले २३ बलमा ७ चौका र २ छक्का मद्दतमा ४७ रन बनाउँदा सशांक सिंहले १६ बलमा ६ चौका र २ छक्का मद्दतमा ४४ रन बनाएका थिए।

अन्तिम ४ ओभरमा श्रेयस र सशांक मिलेर ७७ रन बनाएपछि पञ्जाब विशाल योगफल बनाएको थियो।

बलिङमा गुजरातका साई किशोरले ३ विकेट लिए भने रसिद खान र कागिसो रबाडाले समान १ विकेट लिए।