गुजरातमाथि लखनउको पहिलो जित

8 Apr, 2024

इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। आइतबार भएको खेलमा लखनउले गुजरात टाइटन्समाथि ३३ रनको जित निकाल्यो।

२ सिजनअघि आईपिएलमा आएका यी टिमबीच लखनउले पहिलो जित निकालेको हो। यसअघिका चार भीडन्तमा गुजरात विजयी भएको थियो।

लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमै अलआउट हुँदै १३० रन मात्र बनाउन सक्यो। गुजराजतका लागि साइ सुदर्शनले २३ बलमा ४ चौकाको मद्दतबाट ३१ रन जोडे भने राहुल तेवातियाले ३० रन बनाए। यस्तै शुभमन गिलले १९ र विजय शंकरले १७ रन बनाए।

गुजरातलाई सस्तैमा रोक्ने क्रममा यश ठाकुरले ५ विकेट लिए। आईपिएलमा उनको यो पहिलो ५ विकेट हल हो। यस्तै, क्रुनाल पाण्डेले ३ तथा नवीन उल हक र रवि बिस्नोईले समान १ विकेट लिए।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १६३ रन बनायो । उसका मार्कश स्टोइनिसले अर्धशतक बनाए । उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ५८ रनको योगदान गरे।

यस्तै, कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको मद्दतले ३३ रन जोडे भने निकोलश पुरन २२ बलमा ३ छक्का प्रहार गरी ३२ रन बनाए। युवा ब्याट्सम्यान आयुश बदोनीले ११ बलबाट २० रन बनाए।

बलिङमा गुजराजतका उमेश यादव र दर्शन नालकन्डेले समान २ विकेट लिए।

४ खेलमा तेस्रो जित निकालेको लखनउ ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। यता, गुजराजतको भने यो ५ खेलका तेस्रो हार हो। ऊ ४ अंकसहित सातौं स्थानमा छ