इंग्ल्यान्डका भेट्रान बलर जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ७ सय विकेट लिने पहिलो फास्ट बलर भएका छन्। धर्मशालामा जारी पाँचौं टेस्टको पहिलो इनिङमा ७ सयौं विकेटका रुपमा ४१ वर्षीय एन्डरसनले कुलदीप यादवको विकेट लिए।
टेस्टमा ७ सय विकेट लिने एन्डरसन तेस्रो बलर पनि हुन्। यसअघि श्रीलंकाका मुथैया मुरलीधरन र अस्ट्रेलियाका सेन वार्नले यो उपलब्धि हाँसिल गरेका छन्। यी दुवै स्पिनर हुन्। मुरलिधरनले आठ सय र सेन वार्नले ७ सय ८ विकेट लिएका छन् ।
पछिल्लो दुई दशकयता सक्रिय त्रिकेट खेलिरहेका एन्डरसनले अहिले इंग्ल्यान्डका लागि कीर्तिमान १ सय ८७ औं टेस्ट खेलिरहेका छन्।
एन्डरसनपछि बढी टेस्ट विकेट लिनेमा इंग्ल्यान्डकै स्टुवार्ट ब्रोड रहेका छन् । इंग्ल्यान्डका ब्रोडले ६ सय ४ विकेट लिएका छन् । एन्डरसन र ब्रोड मात्रै ६ सय विकेटभन्दा बढी लिने पेस बलर हुन्।
उनीहरूका पछाडि अस्ट्रेलियाली पेसर ग्लेन म्याकग्राले सर्वाधिक ५ सय ६३ टेस्ट विकेट लिएका छन् । फास्ट बलरका रूपमा एन्डरसनले यति धेरै टेस्ट खेल्नु र विकेट लिनुलाई विश्व क्रिकेटमा अद्वितीय मानिन्छ।