डीएनए इन्टरनेसनल नेपालले आसन्न नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई मुख्य प्रायोजन गर्ने भएको छ।
मंगलबार मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा जनकपुर बोल्ट्सका महाप्रबन्धक नीरज खतिवडा र डीएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले मंगलबार सम्झौता–पत्रमा हस्ताक्षर गरे।
रन्जना ट्रेड सेन्टरको आधिकारिक बिक्रेता रहेको डीएनए इन्टरनेसनल कपडा उत्पादन कम्पनी हो।
कार्यक्रममा डीएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले एनपीएलका लागि जनकपुर बोल्ट्समा आबद्ध हुने मौका पाउनु सौभाग्यको कुरा भएको बताए। भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथ आफूहरुलाई सहयोग पुग्ने बताए।
यस्तै, जनकपुर बोल्ट्सका महाप्रबन्धक खतिवडाले डीएनएको साथमा एनपीएलका लागि मैदानमा उत्रन जनकपुरले बलियो आधार पाएको जनाए।
एनपीएलको पहिलो संस्करण शनिबारबाट सुरु हुँदै छ। ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुरले विराटनगर किंग्ससँग प्रतियोगिताको पहिलो खेलमा खेल्नेछ।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका चर्चित क्रिकेटर जिम्मी निसमलाई अनुबन्ध गरिसकेको छ। मुख्य प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल छन्।
कार्यक्रमा मुख्य प्रशिक्षक पुबुदुले एसोसिएट राष्ट्रमा एनपीएल सबैभन्दा ठूलो लिग हो भएको बताउँदै यस लिगमा सहभागी टोली जनकपुर बोल्ट्सको हिस्सा बनेर नेपाल फर्किन पाएकाेमा निकै खुसी रहेको बताए।
यस्तै, कार्यक्रममा डीएनएले नगद पुरस्कार पनि घोषणा गरेको छ। जनकपुरले उपाधि जितेमा डीएनएले टोलीका हरेक सदस्यलाई १ लाख र उपविजेता भएमा जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।