भारतीय स्टार बलर जसप्रित बुरामह चोटमुक्त हुँदै मैदान फर्किएका छन्। केही समयदेखि अभ्यास गरिरहेका बुमरामह आज हुने रोयल च्यालेन्जर्स बेंग्लुरुविरुद्धको खेलमा मुम्बई इन्डियन्सको टिममा हुनेछन्।
आज राति वानखेडे स्टेडियममा हुने खेलमा बुमराहले खेल्ने प्रशिक्षक महेला जयबर्द्धनेले पुष्टी गरेका छन। उनको आगमनलेृ मुम्बईलाई थप बलियो बनाएको छ।
मुख्य प्रशिक्षक महेला जयवर्धनेले खेलअघिको प्रेस कन्फ्रेनसमा बुमराहको उपलब्धताबारे पुष्टि गरेका छन्। बुमराहको शरीर ठीक भएको बताउँदै जयबर्द्धनेले उनको आगमनले टिमलाई ठूलो प्रेरणा मिलेको बताए।
‘जसप्रित बुमराह टिममा फर्किएका छन् र आजको खेलका लागि उपलब्ध छन्। उनी हिजो टिममा सामेल भएका थिए र उनले अभ्यास पनि गरे। उनको शरीर राम्रो अवस्थामा छ, तर उनी लामो समयपछि फर्किएका हुनाले हामीले उनलाई त्यति धेरै दबाब दिनुहुँदैन। तर मलाई थाहा छ, जसप्रित सधैँ चुनौतीका लागि तयार हुन्छन्,’ उनले भने।
बुमराह गत जनवरीमा अष्ट्रेलियाविरुद्धको बोर्डर–गाभास्कर ट्रफीको अन्तिम टेस्टका क्रममा पिठ्युँमा चोट लागेपछि मैदान बाहिर थिए। उनले त्यसयता भारतको इङ्ल्याण्डविरुद्धको एकदिवसीय र टी–२० सिरिज तथा आईसीसी च्याम्पियन्स ट्रफी पनि गुमाएका थिए।
उनले बेंग्लुरूस्थित बीसीसीआईको सेन्टर अफ एक्सिलेन्समा आफ्नो रिह्याबिलिटेसन पूरा गरेपछि टिममा फर्कने अनुमति पाएका हुन्।
मुम्बई इन्डियन्सले यो सिजनमा चार खेलबाट मात्र एक जित हासिल गरेको छ र अंक तालिकाको पुछारतिर छ। बुमराहको अनुपस्थितिमा टिमको बलिङ निकै कमजोर देखिएको थियो।
उनको फिर्तीले ट्रेन्ट बोल्टसँगको नयाँ बल जोडीले विपक्षी ब्याट्सम्यानलाई दबाब दिने अपेक्षा गरिएको छ। बुमराहले आईपीएलमा मुम्बईबाट १३३ खेलमा १६५ विकेट लिइसकेका छन् र उनको अनुभवले टिमको प्रदर्शनमा सुधार आउने विश्वास गरिएको छ।
आजको खेलमा बेंग्लुरूका विराट कोहली र टिम डेभिडजस्ता ब्याट्सम्यानहरूविरुद्ध बुमराहको प्रदर्शन महत्त्वपूर्ण हुने देखिन्छ।
मुम्बईका समर्थकहरूले बुमराहको फिर्तीले टिमको हौसला बढाउने र सिजनमा नयाँ गति दिने आशा गरेका छन्। यो खेल मुम्बई र बेंग्लुरू दुवैका लागि महत्त्वपूर्ण छ, किनकि बेंग्लुरूले पनि यो सिजनमा राम्रो प्रदर्शन गरिरहेको छ र शीर्ष स्थानमा उक्लने लक्ष्य राखेको छ।