‘जय नेपाल कप’ टि–२० क्रिकट हुँदै, नेपाल, भारत र बंगलादेशका ८ विश्वविद्यालय सहभागी हुँदै

17 Jan, 2025

नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति द्वारा आयोजित ‘जय नेपाल कप २०२५’ क्रिकेट प्रतियोगिता माघ ७ गते (२० जनवरी) देखि सुरु हुँदैछ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगिता सुरु हुन लागेको जानकारी गराएका हुन्।

नौ दिनसम्म चल्ने रोमाञ्चक टि–२० क्रिकेट प्रतियोगिताले जलवायु परिवर्तनजस्तो महत्त्वपूर्ण मुद्दालाई पनि प्रवद्र्धन गर्ने संघले जनाएको छ। नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय टोलीहरू यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न एकजुट हुँदैछन्।

प्रतियोगिताको पुरस्कार राशी ३० लाख रुपैयाँ रहेको छ । यति मात्र होइन, विजयी टोलीलाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गर्ने अवसरका लागि प्रसिद्ध एभरेस्ट भ्यू होटलको विशेष भ्रमणको अवसर प्रदान गरिनेछ।

यस कार्यक्रमको संयोजकको जिम्मेवारीमा संघका केन्द्रीय सदस्य गणेश थापा रहेका छन् भने सहसंयोजकहरू थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति पुष्कविक्रम शाही र अनुपराज पाण्डे रहेकाछन्।

प्रतियोगितामा नेपालका चार विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्याल, मध्यपश्चिम विश्वविद्यालय सहभागी हुने छन् भने छिमेकी राष्ट्रहरू बङ्गलादेशबाट एक ढाका विश्वविद्यालय र भारतबाट तीन बाबासाहेब भीमराव अंबेडकर विहार विश्वविद्यालय, लखनउ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय गरी कुल आठ विश्वविद्यालय साहभागी हुनेछन्।

प्रतियोगिता त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदानमा सम्पन्न हुनेछ भने संघका केन्द्रीय सदस्य दिपक राज जोशी मपीजकत्वमा विश्वविद्यालय परिसरमा विश्वव्यापी उष्णता र जलवायु परिवर्तन सम्बन्धी महाकवि साहित्य महोत्सव आयोजना गरिएको छ।

‘एकः रन एक बृक्ष’ को नीति अवलम्बन गर्दै प्रतियोगिताको कुल रन संख्या बरावरको वृक्ष रोपण कार्यकम गर्ने, प्रतियोगिता अवलोकनका लागी टिकटको मूल्य एक सय र पाँच सय निर्धारण गरिएको छ भने विद्यार्थीको हकमा ५० निर्धारण गरीएको छ।

प्रतियोगिताको टिकटबाट संकलन हुने रकम जाजरकोट जिल्लामा भूकम्पबाट क्षति पुगेको विद्यालय पुनः निर्माणका लागि सहयोग गरिनेछ।