रित र शुभकाे अर्धशतमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य, पुलिस जित नजिक

12 Jan, 2025

रित गौतम र शुभ कंशकारले अर्धशत प्रहार गरेपछि जारी जय ट्रफीको लिगको अन्तिम खेलमा बागमती प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई ११६ रनको सामान्य लक्ष्य दिएको छ।

यी दुई खेलाडीको अर्धशतक मद्दतमा बागमतीले दोस्रो इनिङमा २१८ रन बनायो। उसका लागि शुभले ७४ बलमा १२ चौका र १ छक्का मद्दतमा ७० रन बनाउँदा रितले ९३ बलमा ८ चौका मद्दतमा ५२ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १०९ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

यी दुई बाहेक कप्तान सन्दीप लामिछाने र सूर्य तामाङले समान १६ रन बनाउँदा उत्तम थापामगरले १४ रनको योगदान दिए। बलिङमा पुलिसका ललित राजवंशीले ३ विकेट लिँदा श्रवण यादवले २ विकेट लिए।

त्यसअघि बामगती पहिलो इनिङमा ११२ रनमै अलआउट भएको थियो। उसका इशान पाण्डेले ७१ रन बनाए पनि अन्यले साथ नदिँदा बागमती सस्तैमा समेटिएको थियो। बलिङमा पुलिसका ललितले ४, श्रवणले ३ र कुशल भुर्तेलले २ विकेट लिएका थिए।

पुलिसले भने पहिलो इनिङमा अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतक मद्दतमा २१५ रन बनाएको थियो। अमतिले ७९ र अर्जुनले ७७ रन बनाएका थिए। यी दुईले पाँचौं विकेटका लागि कीर्तिमानी १४८ रनको साझेदारी गरेका थिए।

बलिङमा बागमतीका सन्दीपले ४ विकेट लिँदा नन्दन यादव र प्रतिश जिसीले समान २ विकेट लिएका थिए।

सामान्य लक्ष्य पछ्याएको पुलिस जित नजिक पुगेको छ। ताजा अवस्थामा उसले ९ ओभरमा १ विकेटको क्षतिमा ६४ रन बनाएको छ। उसका कप्तान कशुल भुर्तेल ३२ र अमति २८ रन बनाए खेलिरहेका छन्।