न्युजिल्यान्डका स्टार अलरान्डर निसमले एनपिएल खेल्ने

24 Oct, 2024
Share:
117 Shares

न्युजिल्याण्डका स्टार अलराउण्डर जिम्मी निसम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

न्युजिल्यान्डको राष्ट्रिय टिमबाट लामो समयसम्म खेलेका ३४ वर्षीय अलराउन्डर निसमलाई एनपिएलका लागि जनकपुर बोल्ट्सले टिमका अनुबन्धन गरेको हो।

निसम एनपिएल खेल्न आउने अहिलेसम्मकै ठूलो स्टार हुन्। निसमले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय र ७९ टि–२० खेल खेलेका छन्। उनी न्युजिल्यान्डको टि–२० विश्वकप टिममा पनि थिए।

निसमले टेस्टमा ७०९ रनसँगै १४ विकेट लिएका छन् भने एकदिवसीयमा १४९५ रन र ७१ विकेट लिएका छन्। यस्तै, उनले टि–२०मा ९४४ रन र ३९ विकेट लिएका छन्।

निसमले अन्तराष्ट्रियसँगै विश्वभरको लिग खेलेका छन्। उनले मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइड्र्सबाट आईपिएल खेलेका छन्।

विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरले नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुद दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मनोज कटुवाल प्रशिक्षक र बरदान चालिसे क्रिकेट डिरेक्टरको रुपमा छन्।