फिल्डिङका राजा जोन्टी रोड्स पोखरा एभेन्जर्समा आवद्ध

25 Oct, 2024
Share:
117 Shares

क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका छन्।

यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका छन्।

एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्वदक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगको लागि आफ्नो टीमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन्।

रोड्सले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नेछन्।

‘उहाँलाई हाम्रो टिममा पाउँदा निकै उत्साहित छौं। उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ। युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ,’ सञ्चालक श्रेष्ठले भने।

रोड्सले मुम्बई इन्डियन्स र हाललखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन्।

पोखरामा आबद्ध भएपछि रोड्सले आफू उत्साहित भएकामे बताएका छन्। उनले आफ्नो सीप र अनुभव मार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग गर्दै टिमलाई बलियो बनाउन प्रयास गर्ने बताएका छन्।

रोड्स यसअघि पनि नेपाल आएका छन्। उनी धनगडी प्रियिमर लिगको सद्भावना दूत बन्दै पहिलो पटक नेपाल आएका थिए भने दोस्रो पटक नेपाल आउँदा उनले नेपाली युवा खेलाडीहरुलाई कीर्तिपुरमा प्रशिक्षण गराएका थिए।

एनपिएलका लागि पोखरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ।