इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन सुरु भएको २ साता नबित्दै गुजरात टाइटनसलाई झट्का लागेको छ।
गुजरातका स्टार दक्षिण अफ्रिकी तीव्र गतिका बलर कागिसो रबाडाले टोली छाडेर स्वदेश फर्किएका छन्। यो खबरले गुजरात टाइटन्स र उनका समर्थकहरूलाई ठूलो झट्का दिएको छ। रबाडाको अचानक प्रस्थानले टोलीको रणनीति र प्रदर्शनमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।
व्यक्तिगत कारणले फिर्ता रबाडा आईपिएल छाडेर घर फर्किएको गुजराजतले बताएको छ। उसले रबाडा घर फर्किनुमा ‘महत्त्वपूर्ण व्यक्तिगत कारण’ रहेको जनाएको छ। उसले व्यक्तिगत कारण केहो भन्ने खुलाएको छैन । टिम व्यवस्थापनले उनको गोपनीयताको सम्मान गर्दै थप विवरण दिन अस्वीकार गरेको छ।
रबाडाले पनि सामाजिक सञ्जालमार्फत कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्, जसले यो प्रकरणलाई थप रहस्यमयी बनाएको छ। केही अनलाइन रिपोर्टहरूले यो पारिवारिक कारणसँग सम्बन्धित हुन सक्ने अनुमान गरेका छन्, तर आधिकारिक पुष्टि भएको छैन।
गुजरातमा रबाडाको प्रदर्शन
यो सिजनमा रबाडाले गुजरात टाइटन्सका लागि दुई खेल खेलेका थिए। पञ्जाब किंग्सविरुद्धको खेलमा उनले ४१ रन खर्चेर १ विकेट लिएका थिए भने मुम्बई इन्डियन्सविरुद्ध ४२ रन दिएर पनि १ विकेट हात पारेका थिए।
उनको प्रदर्शन अपेक्षाकृत औसत रहे पनि उनको अनुभव र क्षमताले टोलीको बलिङ आक्रमणलाई बलियो बनाएको थियो। तर, रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको तेस्रो खेलमा उनी टोलीसँगै थिएनन्। यो खेलमा गुजरातले जित हासिल गरे पनि रबाडाको अनुपस्थितिले टोलीको रणनीतिमा केही असर परेको देखिएको थियो। उनको स्थानमा अरशद खानले मौका पाएका थिए, जसले खेलमा राम्रो प्रदर्शन गरे।
रबानाको अनुपस्थितिले गुजरातमाथि दबाब
रबाडा घर फर्किएपछि गुजरात टाइटन्सलाई ठूलो धक्का लागेको छ। उनको तीव्र गति र स्विङ बलिङले टोलीको बलिङ लाइनअपमा गहिरो प्रभाव राख्थ्यो। अब टोलीले बाँकी खेलका लागि नयाँ रणनीति बनाउनुपर्ने चुनौती छ।
विदेशी खेलाडीको कोटामा अन्य विकल्पहरूमा अलराउन्डर ग्लेन फिलिप्स वा अन्य पबलरहरूलाई मौका दिने सम्भावना छ। तर, रबाडाको अनुभव र क्षमतालाई प्रतिस्थापन गर्न सहज भने छैन। टोलीका प्रशिक्षक आशिष नेहराले यो अवस्थालाई ‘अप्रत्यासित’ भन्दै टोलीले छिट्टै समायोजन गर्ने विश्वास व्यक्त गरेका छन्।
आईपिएलमा रबाडाको इतिहास
रबाडाले आईपीएल बीचमै छाडेको यो पहिलो पटक भने होइन् । सन् २०१८ मा ढाडको चोटका कारण उनले पूरा सिजन गुमाएका थिए।
त्यस्तै, सन् २०१९ मा विश्वकपको तयारीका लागि दिल्ली क्यापिटल्स क्याम्प छाडेका थिए। सन् २०२४ मा खुट्टामा भएको सानो संक्रमणका कारण उनले आईपिएल बीचमै छाड्नु परेको थियो । यी घटनाहरूले रबाडाको आईपीएल यात्रा बारम्बार अवरुद्ध भएको देखाउँछ। यद्यपि, यो पटकको कारण शारीरिक चोटभन्दा व्यक्तिगत भएकोले उनको स्वास्थ्य ठीक रहेको अनुमान गर्न सकिन्छ।
पुनः फर्कने सम्भावना
रबाडाको आईपीएल २०२५ मा फेरि फर्कने सम्भावनाबारे अहिलेसम्म केही भन्न सक्ने अवस्था छैन । गुजरात टाइटन्सले पनि उनको फिर्तीको मिति वा अवधिबारे टोलीले कुनै स्पष्टता दिएको छैन। यसले उनको फर्कने सम्भावना अनिश्चित रहेको संकेत गर्छ।
फर्कने सम्भावना उनको व्यक्तिगत परिस्थितिमा निर्भर गर्छ, जुन गोप्य राखिएको छ। अहिलेलाई, गुजरात टाइटन्स र समर्थकहरू उनको शीघ्र फिर्तीको आशामा छन्।
गुजरातले रबाडाको विकल्पका रुपमा अर्का दक्षिण अफ्रिकी फास्ट बल जेराल्ड कोएट्जीलाई प्रयो गर्न सक्छ। तर रबाडाको अनुभव र विशेष क्षमताको अभाव भने टिममा खड्कने छ।