‘गलत प्रचार गरियो, कर्णाली याक्स बिक्री भएको छैन, दोस्रो सिजनमा थप सशक्त भएर आउछाैं’

26 Mar, 2025

नेपाल प्रिमिय लिग (एनपिएल)को टिम कर्णाली याक्स बिक्री भएको भन्दै बुधबार समाचार आयो। हिमालयन बिल्डर्सले आफ्नो स्वामित्वमा रहेको एनपिएल टिम नाफासहित बचेको समाचार केही मिडियाले छापेका थिए।

यो हल्लापछि कर्णाली याक्सले बुधबार विज्ञप्ति नै निकालेर टिम बिक्री गरिएको भन्दै गलत प्रचार गरिएको उल्लेख गरेको छ।

कर्णाली याक्सका मालिक गृहमेन्द्र घिमिरेले गलत प्रचार भएको भन्दै टिम बिक्रीमा नरहेको स्पष्ट पारेहका छन्। उनले एनपिएलको दोस्रो संस्करणमा टिम अझ बलियो भएर आउने उल्लेख गर्दै भ्रामक सूचनाको पछि नलाग्ने आग्रह गरेका छन्।

‘भ्रमपूर्ण समाचारहरूबारे प्रतिक्रिया दिनु आवश्यक थिएन । तर, समर्थकहरूको साथमा नयाँ योजनासहित दोस्रो संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत हुन लाग्दा नियोजित रूपमा फैलाइएको भ्रम चिर्नु क्लबको दायित्व ठान्दछौं। कर्णाली याक्सका सम्पूर्ण शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

भ्रमक सूचना फैलाएर कर्णालीवासीको भावनासँग खेलिएको विज्ञप्तिमा जिकिर गरिएको छ। ‘हाम्रो टिमबारे विना कुनै आधार सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले हाम्रो क्रिकेट प्रतिबद्धता, कर्णालीवासीको भावना र नेपाली क्रिकेटमा कर्णाली याक्सले एकै सिजनमा निर्माण गरेको पहिचानमाथि अन्याय गरेको अनुभूति भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

भारतीय स्टार ब्याट्सम्यान शिखर धवनलाई अनुबन्धन गरेर चर्चा कमाएको कर्णाली याक्स पहिलो संस्कणको एनपिएलमा प्लेअफसम्म पुगेको थियो। सोमपाल कामी मार्की खेलाडी रहेको टिमले महिलो संस्करणमा सोचेभन्दा राम्रो प्रदर्शन गरेको उल्लेख छ।

‘पहिलो संस्करणमा हाम्रो परिणाम अपेक्षाभन्दा राम्रो रह्यो । समर्थकहरूको साथले दोस्रो संस्करणमा झन् बलियो रूपमा उपस्थित हुन प्रेरित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।