काठमाडौं गोर्खाजले थाल्यो एपिएलनको दोस्रो सिजनको तयारी, नाम, लोगो र व्यवस्थापन परिवर्तन

24 Jul, 2025

फ्रेन्चाइजी काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणकाे तयारी थालेकाे छ।

दाेस्राे सिजनलाई लक्षित गर्दै फ्रेन्चाइजी काठमाडौं गोर्खाजले नयाँ व्यवस्थापन, नाम, लोगो सार्वजनिक गरेको छ। साेसँगै उसकाे दाेस्राे सिजनकाे तयारी सुरू भएकाे हाे।

राजधानीको प्रतिनिधित्व फ्रेन्चाइज टिमले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न पक्षमा भएको परिवर्तन सार्वजनिक गरेको हो।

पहिलो संस्करण काठमाण्डु गुर्खाजबाट एनपिएल खेलेको उसले अहिले नाम काठमाडौं गोर्खाज बनाएको छ। नमसँगै उनले लोगो पनि परिवर्तन गरेको छ। नयाँ लोगोले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदालाई प्रतिनिधित्व गर्ने दाबी गरिएको छ।

काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको टोलीले यसपटक व्यवस्थापनदेखि तयारीसम्मका धेरै पक्षमा नयाँ आयाम थपिएको बताएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई लक्षित गर्दै टोलीले आफ्नो गतिविधि केन्द्रित गर्ने जनाएको छ।

टोलीले वर्ल्ड लिंकसँग मुख्य प्रायोजन सम्झौता गरेको छ। सम्झौताअनुसार वर्ल्ड लिंकको लोगो टोलीको जर्सीको अगाडिको भागमा देखिनेछ। काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र वर्ल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

त्यस्तै, हस्पिटालिटी पार्टनरको रुपमा ‘रोयल टुलिप काठमाडौं’ फ्रेन्चाइजसँग जोडिएको छ । ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटल ‘रोयल टुलिप’ एनपीएल–२ का दौरान टोलीको आवासस्थल हुनेछ। सम्झौतामा काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र होटलका जेनेरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरेका थिए।

टोलीले नेपाल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ। उनी आगामी महिनामा हुने मिनी अक्सनको समयमा नेपाल आउने अपेक्षा गरिएको छ।

मोन्टीको साथमा सहायक प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवा टोलीमा यथावत रहने छन्। बाँकी सपोर्ट स्टाफको टुंगो चाँडै लगाइने टोलीले जनाएको छ ।

टोलीले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसी, भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।

त्यस्तै, टोलीको ट्रेनिङ पार्टनरको रुपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ। जैम्स स्कुल परिसरमा सञ्चालन हुने एकेडेमीमा फ्लडलाइट सुविधा पनि रहने बताइएको छ। निर्माण कार्य सम्पन्न भएपछि टोलीले यही एकेडेमीमा प्रशिक्षण गर्ने योजना बनाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]