मेयर्स कपमा पुलिस विजयी, स्पिनरबलमा रक्षा गर्‍यो ७३ रनको लक्ष्य

स्पिनरहरु चम्किएपछि विभागीय टिम पुलिस क्लबले ७३ रनको झिनो लक्ष्य पनि रक्षा गरेको छ। आजबाट सुरु भएको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगतामा स्पिनरको उत्कृष्ट प्रदर्शन मद्दतमा पुलिसले बागमित प्रदेशविरुद्ध ७३ रनको लक्ष्य रक्षा गरेको हो।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा दुवै टिमले खराब ब्याटिङ गरेका थिए । स्पिनरहरु दीपेन्द्रसिंह ऐरी, ललितनरायण राजवंशी र सागर ढलकाले उत्कृष्ट प्रदर्शन गरेपछि रोमाञ्चक खेलमा पुलिसले बागमति माथि २ रनको जित निकाल्यो।

७३ रनको झिनो लक्ष्य पछ्याएको बागमति २७.२ ओभरमा ७० रनमै अलआउट भयो। बागमतिका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए भने अदिल खानले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बागमतिको इनिङ ध्वस्त बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। उनले उनले ८ ओभरमा २ मेडनसहित २४ रन खर्चिए । यस्तै, ललितले ८ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिँदा सागरले ८ ओभरमा १ मेडनसहित १३ रन मात्र खर्चिएर २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले २५.२ ओभरमा अलआउट हुँदै ७२ रन बनाएको थियो । उसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए भने सुनिल धमला, अनिल साह र दिलिप नाथले समान १० रन बनाए । अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

बागमतिका अरियो पौडेलेले ४ ओरभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर ४ विकेट लिए भने नन्दनले ६.२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए।

दीपेन्द्रसिंह ऐरी खेलको प्लेयर अफ दी म्याच चुनिए।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छन् ।

सिंगल राउन्ड रोविनका आधारमा हुने एकदिवसीय प्रतियोगितामा काठमाडौं मेयर–११सहित ५ टिम सहभागी हुने छन् । अन्य चार टिम पिएम कप क्रिकेटका सेमिफाइनलिस्ट हुन् । जसमा एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी र बागमति प्रदेश छन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । यस्तै म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५–२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार दिइने क्यानले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.