चलेन हैदरावादको ‘फायरपावर’, कोलकातासँग फराकिलो हार

4 Apr, 2025

विस्फोटक ब्याटिङ क्षमता भएको टिमका गत सिजनबाट आफूलाई उभ्याएको सनराइजर्स हैदरावादले आईपिएलमा लागातार तेस्रो हारको सामना गरेको छ।

प्रतियोगितामा लागतार तेस्रो हार व्यहोर्ने क्रममा बिहीबार राति भएको खेलमा हैदरावाद कोलकाता नाइट राइडर्ससँग ८० रनको फराकिलो अन्तरले पराजित भयो।

कोलकाताले दिएको २०१ रनको ठूलो लक्ष्य पछ्याएको ‘फायर पावर’ ब्याटिङ भएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अलआउट भयो।

उसका हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रन बनाए । नितिश कुमार रेड्डीले १९ रन बनाए। उसको शीर्ष तीन ब्याट्सम्यान लागतार तेस्रो खेलमा फ्लप भए।

हैदरावादलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका लागि वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए भने वैभव अरोराले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए। आन्द्रे रसलको नाममा २ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो। उसले दुवै ओपनरलाई सस्तैमा गुमाए पनि मध्यक्रममा वेंकटेश ऐयर र अंगक्रिस रघुवंशीले अर्धशतक प्रहार गरेपछि उसले ठूलो योगफल बनायो।

वेकंटेशले सर्वाधिक उनले २९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए भने रघुवंशीले ३२ बलमा ५ चौका २ छक्का मद्दता ५० रन बनाए । यस्तै कप्तान अजिन्का रहाणेले २७ बलमा ३८ रन बनाउँदा रिंकु सिंहले १७ बलमा ३२ रन बनाए।

बलिङमा हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जीशान अन्सारी, हर्शल पटेल र कामिन्दु मेन्डिसले समान १ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ४ अंक जोडेको कोलकाता अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलबाट २ अंक मात्र रहेको हैदराबाद पुछारमा छ।