पोखरामा आजबाट सुरु भएको प्रथम संस्करणको केपी ओली टी–२० क्रिकेट कप प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ।
सन्दीप लामिछाने र रित गौतम चम्किएपछि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आयोजक मदन भण्डारी स्पोर्टस् ऐकेडेमी ‘रातो’लाई १०९ रनको फराकिलो अन्तरले हरायो।
सन्दीप लामिछानेको कप्तानीमा रहेको बाग्मतीले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । बागमतीका लागि रित गौतमले ७४ तथा शुभ कंशाकारले २७ रन बनाए। सन्दीपले ४ बलमा १८ रन बनाए।
बलिङतर्फ एकेडेमी ‘रातो’ का विपर्सन केसीले ३ विकेट लिँदा सन्देश थापा र सन्तोष यादवले १–१ विकेट लिए।
आयोजक मदन भण्डारी स्पोर्टस् ऐकेडेमी ‘रातो’ १८५ रनको लक्ष्य पछ्याउने क्रममा १४.२ ओभरमा ७५ रन बनाउँदै अल आउट भयो। उसका लागि अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक १३ रन बनाए ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट, प्रतिश जिसी २, सुभाष खत्रीले ३ विकेट, रिजन ढकालले १ विकेट लिए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ प्रदेशसहित विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिम सहभागी छन् ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । खेलको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।