केपी ओली कपको विभागीय डर्बी– पुलिसमाथि आर्मीको सानदार जित

24 Feb, 2025

केपी ओली कप फुबटबलको पहिलो विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सोमबार दिउँसो एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लबमाथि २–०को जित निकाल्यो।

जितसँगै आर्मी क्लब सेमिफाइनलमा पुगेको हो। आर्मीले अब सेमिफाइननलमा भोलि हुने संकटा र एपिएफको विजेतासँग खेल्नेछ ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। खेलमा दुवै हाफमा गोल आएको थियो।

नवयुगले खेलको १९औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएको थिए। जिलेस्पी जंग कार्कीले बायाँ विंगबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोलको दिशा दिएका थिए।

पहिलो हाफमै पुलिसको बराबरी गर्ने प्रयासमा क्रसबार बाधक बन्यो । ४३औं मिनेटमा संजीव लामाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेको थियो।

८०औं मिनेटमा आर्मीको आक्रमणमा रहेका चारै खेलाडी आवद्द मुभमा अग्रता दोब्बर भयो। निराजन धामीले मिडफिल्डमा खोसेको बल बक्सभित्र लगेर कटब्याक गरे। त्यसमा जिलेस्पीको प्रहार गोलरक्षक शत्रुघन चौधरीले बचाए। फुस्केको बललाई नवयुगले लो क्रस दिँदा दिनेशले फिनिस गरे।