केपी ओली कप क्रिकेटको उपाधि गण्डकी हिरोजले जित्यो

18 Apr, 2025

दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेटको उपाधि गण्डकी हिरोजले जितेको छ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो। एपाधिसँगै गण्डकीले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

१८३ रनको लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए।

बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे। त्यसअघि किरण ठगुनाले ५२ रनको अर्धशतकीय पारी खेलेका थिए। सुजन थपलिया ३५ रन र दिपक डुुम्रे २६ रन बनाए।

काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिँदा मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट भयो। काठमाडौंका अर्जुन घर्तीले ६८ रन बनाए। उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाए।

गण्डकीका लागि अमृत गुरुङ र कृष्टा पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए।

काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे।