सन्दीप लामिछानेको कप्तानीमा रहेको बगमती प्रदेश पोखरामा जारी केपी ओली कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। शुक्रबार कर्णाली प्रदेशमाथि ९० रनको जित निकाल्दै बागमतीले सेमिफाइनलमा स्थान बनायो।
प्रतियोगितामा लागातार दोस्रो जित निकाल्ने क्रममा बागतमीका कप्तान सन्दीप र रित गौतमले उत्कृष्ट इनिङ खेले। उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई हराउँदा पनि दुवै चम्किएका थिए।
बागमतीले दिएको १९० रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १७.३ ओभरमा ९९ रनमै अलआउट भयो। उसका लागि अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाउँदा विपिन शाहीले २१ र कप्तान रविन्द्र शाहीले २० रनको योगदान दिए। अन्यले गतिलो योगदान दिन सकेनन्।
बागमतीको इनिङ धरासायी बनाउने क्रममा सन्दीपले घातक बलिङ गरे। उनले ३.३ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए। यस्तै, दिपेश श्रेष्ठले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको बागमतीले ६ विकेटको क्षतिमा १८९ रन बनायो। उसका लागि रित गौतम र इशान पाण्डेले अर्धशतकीय योगदान दिए। रितले ५९ बलमा १० चौका र २ छक्काको मदतले ८२ रन बनाए । इशानले ३८ बलमा ४ चौका र ६ छक्काको मदतमा ७० रन बनाए।
कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए।