सुनसरीमा सम्पन्न कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टर्सले जितेको छ।
तीन राष्ट्रिय खेलाडीहरू दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल चम्किएपछि नमुना ब्लास्टर्स च्याम्पियन बन्यो। उसले शनिबार सम्पन्न फाइनलमा भोक्राह नरसिंह अर्नाजलाई ३७ रनले हरायो।
नमुनाले दिएको २०८ रनको लक्ष्य पछ्याएको भोक्राहले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो। उसका सुजन थपलियाले सर्वाधिक ३३ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दीपेन्द्रसिंह ऐरी र कुशल भूर्तेलको आक्रामक ब्याटिङ मद्दतमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो ।
दीपेन्द्रले ७८ तथा भुर्तेलले ५३ रन बनाए भने कुशल मल्लले ४३ रन बनाएका थिए। भोक्राहाका लागि सन्दीप ढुंगानाले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे।