मुम्बई इन्डियन्स आईपिएलको क्वालिफायर २ मा प्रवेश गरेको छ। शुक्रबार राति भएको एलिमिनेटरमा गुजराट टाइटन्समाथि २० रनको जित निमाल्दै मुम्बई क्वालिफायरमा पुगेको हो।
जारी प्रतियोगितामा मुम्बईको लिगको शीर्ष तीन टिमविरुद्धको यो पहिलो जित हो। उसले लिगमा गुजरातसहित बेंग्लुरु र पञ्जाबविरुद्ध जित निकाल्न सकेको थिएन।
यता, गुजरातको यो लातगार तेस्रो हार हो। यसअघि समूह चरणमा लगातार दुई खेलमा पराजित हुँदा उसले शीर्ष २को अवसर गुमाएको थियो।
२२९ रनको लक्ष्य पछ्याएको गुजरातजले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो। उसका लागि साई सुदर्शनले पुनः एक पटक उत्कृष्ट ब्याटिङ गरे । यो सिजन ७ सयभन्दा माथि रन बनाएका उनले ४९ बलमा १० चौका र १ छक्का मद्दतमा ८० रन बनाए। यस्तै, वासिङ्टन सुन्दरले २४ बलमा ४८ रनको पारी खेले।
यी दुईले तेस्रो विकेटका लागि ८४ रनको उत्कृष्ट साझेदारी गर्दै टिमलाई जिततर्फ लगेका थिए। तर, १४औं ओभरको चौथो बलमा जस्प्रित बुमराहले बोल्ड गरेपछि मुम्बईले खेल आफ्नो पक्षमा मोडेको थियो। यी दुई बाहेक सेरफान रथरफोर्डले २४ र हिट विकेट भएका कुशल मेन्डिसले २० रन बनाए।
बलिङमा मुम्बईका लागि ट्रेन्ट बोल्टले २ विकेट लिँदा बुमहाह, रिचर्ड ग्लिसन, मिचेल सान्टनर र आश्विनी कुमारले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले रोहित शर्माको विस्फोटक ब्याटिङ मद्दतमा ५ विकेटको क्षतिमा २२८ रन बनायो। उसका लागि रोहितले ४९ बलमा ९ चौका र ४ छक्का मद्दतमा ८१ रन बनाए। यस्तै, जोनी बेइस्टोले २२ बलमा ४ चौका र ३ छक्का मद्दतमा ४७ रन बनाए।
यी दुईले पहिलो विकेटका लागि ७.२ ओभरमा ८४ रनको साझेदारी गर्दै मुम्बईलाई विस्फोटक सुरुआत दिलाएका थिए। यस्तै, सूर्यकुमार यादवले ३३, तिलक बर्माले २५ र हार्दिक पाण्ड्याले २२ रनको महत्वपूर्ण पारी खेले।
बलिङमा गुजरातका प्रसिद्ध कृष्णा र साई किशोरले समान २ विकेट लिए भने मोहम्मद सिराजले १ विकेट लिए।
अब मुम्बईले फाइनल प्रवेशका लागि पञ्जाब किंग्ससँग क्वालिफायर २ खेल्ने छ। पञ्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ८ विकेटले पराजित भएपछि क्वालिफायर २मा आइपुगेको हो।
