रोमाञ्चक खेलमा पञ्जाबमाथि मुम्बईको जित, सातौं स्थानमा उक्लियो

19 Apr, 2024

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले तोस्रो जित निकालेको छ। प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा मुम्बईले मुल्लापुरमा पञ्जाब किंग्समाथि ९ रनको रोमाञ्चक जित निकाल्यो।

मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमै अलआउट भयो। उसका लागि आशुतोष शर्माले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए।

उनले उनले २८ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६१ रन बनाए। १४–४को खराब अवस्थाम रहेको पञ्जाब आशुतोष क्रिजमा हुँदासम्म जितको नजिक थियो। त्यो बेला पञ्जाबलाई जितका लागि १८ बलमा २५ रन चाहिएको थियो थियो। तर, आशुतोष १८औं ओभरको पहिलो बलमै आउट भए।

पञ्जाबका लागि शशांक सिंहले २५ बलमा ४१ रन बनाउँदा हरप्रित ब्रारले २१ र हरप्रित सिंहले १३ रन बनाए।

मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोत्जीले समान ३ विकेट लिए भने आकाश माधवल, हार्दिक पाण्ड्या र श्रेयश गोपालले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ७ विकेट गुमाएर १९२ रन बनायो। उसका लािग सूर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाए। उनले ५३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, रोहित शर्माले ३६, तिलक बर्माले ३४, टिम डेविडले १४ तथा कप्तान हार्दिक पाण्ड्याले १० रन बनाए।

बलिङमा पञ्जाबका हर्षल पटेलले ३, कप्तान साम करणले २ र कगिसो रबाडाले १ विकेट लिए।

यो जितसँगै मुम्बई ६ अंकसहित सातौं स्थानमा उक्लिएको छ। यता, पञ्जाब भने ४ अंकसहित नवौं स्थानमा छ।