इंग्लिस अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। अस्ट्रेलियाविरुद्धको आसन्न एकदिवसीय र टि–२० सिरिजमा टिममा स्थान बनाउन असफल भएसँगै ३७ वर्षीय अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढिने घोषणा गरेका हुन्।
एकदिवसी र टि–२० विश्वकप विजेता इंग्लिस टिमका सदस्य रहेका अलीले नयाँ पुस्तालाई ठाउँ दिन सन्न्यासको घोषणा गरेको बताएका छन्।
सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले ६८ टेस्ट, १३८ ओडीआई र ९२ टि–२० आई खेल खेलेका छन्। तीनै संरचना क्रिकेटमा उनले ८ शतक, २८ अर्धशतक, ६६७८ रन र ३६६ विकेट लिएका छन्।
गत जुन २७ मा टी–२० विश्वकप सेमिफाइनलमा भारतविरुद्ध उनको करिअरको अन्तिम खेल रह्यो।
टेस्टमा उनका ५ शतक छन् । सन् २०१६ मा श्रीलंकाविरुद्ध १५५ रन उनको टेस्ट करिअरको उत्कृष्ट प्रदर्शन हो ।
श्रीलंकाविरुद्ध सन् २०१४ मा ११९ रन, २०१५ मा स्कटल्यान्डविरुद्ध १२८ रन र २०१७ मा वेस्टइन्डिजविरुद्ध १०२ रन उनका ओडीआई शतक हुन्। सन् २०२२ को टी–२० खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध १६ बलमा अर्धशतक प्रहार गरेका थिए। जुन टी–२० आईमा इंग्ल्यान्डबाट सर्वाधिक छिटो अर्धशतक हो।