मुम्बईले रोहितलाई हटाउँदै हार्दिकलाई बनायो कप्तान

16 Dec, 2023

इन्डियन प्रिमियर लिग (आईपिएल)का सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएको छ।

१० वर्ष कप्तानी गर्दै मुम्बईलाई ५ पटक च्याम्पियन बनाएका रोहितलाई हटाउँदै मुम्बईले अलराउन्डर हार्दिक पाण्ड्यालाई कप्तान बनाएको छ। मुम्बईले शुक्रबार साँझ हार्दिक नयाँ कप्तान घोषणा गरेको हो।

अहिले भारतको तीनै फर्म्याटको कप्तान रहेका रोहितलाई मुम्बईले कप्तानबाट हटाउँदै धेरैले आश्चर्य मानेका छन्। यो निर्णयसँगै सामाजिक सञ्जालमा मुम्बईलाई अनफलो गर्ने लहर नै चलेको छ। धेरैले अब आईपिएलमा मुम्बईलाई समर्थन नगर्ने बताएका छन्।

याे निर्णय भएकाे १ घण्टामै मुम्बईलाई ४ लाखले अनफलाे गरेका छन्।

मुम्बईले हार्दिकले गुजरात टाइटन्सबाट ट्रेड गर्दै टिममा लाएको थियो। दुई सिजनअघि मुम्बई छाडेका हार्दिकले गुजरातलाई पहिलो नै च्याम्पियन बनाएका थिए भने दोस्रो सिजन पनि फाइलन पुगेका थिए।

हार्दिक मुम्बई ट्रेड हुनेृवित्तिकै धेरैले अब हार्दिक नै मुम्बईको कप्तान बन्ने बताएका थिए। तर, यो सिजन नै कप्तान बन्छन् भन्ने कसैले पनि सोचेका थिएनन्।

यता, केही सार्थक र क्रिकेट विश्लेषकले भने मुम्बईको कप्तानबाट हट्दा रोहितलाई नै फाइदान पुगेको बताएका छन्। ‘अब रोहितले ब्याटिङमा मात्र आफूलाई फोकस गर्न पाउँछन्, टिमले राम्रो प्रदर्शन नगर्दा हुने अतिरिक्त तनावबाट उनी मुक्त हुनेछन्। यसलाई आसन्न टि–२० विश्वकपमा पनि भारत र रोहितलाई फाइदा हुनेछ,’ उनीहरुको विश्लेषण छ।

रोहितको कप्तानीमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२०मा उपाधि जिते्को छ। उनी सन् २०१०मा डेकन चाजर्सबाट मुम्बई आएका थिए।

मुम्बईमा कप्तानका लागि सूर्यकुमार यादव र जसप्रित बुमराह पनि दाबेदारका रुपमा थिए। सूर्यकुमार अहिले भारतीय टि–२० टिमको कप्तान हुन् भने बुमराहले पनि भारतीय टि–२० टिमको कप्तानी गरिसकेका छन्।

यता, नयाँ कप्तान हार्दिकलाई टिमलाई एक ढिक्का बनाउँदै राम्रो प्रदर्शन गर्ने चुनौती छ। पाण्ड्याले रोहित, सूर्यकुमार र बुमराहलाई कसरी ‘ट्रिट’ गर्छन्, त्यसमा मुम्बईका सफलता र असफलता निर्भर रहन्छ।