डेथ ओभरकाे बलिङ र व्याटिङमा नेपालको कमजोरी यथावत, वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित

28 May, 2024

नेपाली राष्ट्रिय क्रिकेट टिमको डेथ ओभरको बलिङ र ब्याटिङको कमजोरी यथावत देखिएको छ। सोही कमजोरी दोहोरोरिँदा नेपाल टि–२० विश्वकपको पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनेका फराकिलो अन्तरले पराजित भयो।

डेथ ओभरको बलिङ निकै कमजोर भएपछि क्यानडाले नेपाललाई १८४ रनको ठूलो लक्ष्य दिएको थियो। त्यो लक्ष्य पछ्याएको नेपाल कमजोर ब्याटिङ प्रदर्शनपछि १९.३ ओभरमा १२० रनमै अलआउट भयो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। उनले ३० बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै, अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ र आसिफ सेखले २२ बलमा २२ रन बनाए। अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्।

नेपाली इनिङ धरासायी बनाउने क्रममा क्यानडाका डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने जेरेमी गोर्डन र साद बिन जाफरले समान २ विकेट लिए।

त्यसअघि अमेरिकाको डलासस्थित ग्राण्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। १७औं ओभरसम्म नेपालले क्यानडालाई दबाबपूर्ण अवस्थामा राखेको थियो। तर, त्यसपछि क्यानडाले ३ ओभरमा विनाक्षति ५५ रन जोड्दै नेपाललाई ठूलो लक्ष्य दिएको थियो।

क्यानडाका लागि निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए। रविन्द्रपाल सिंहले अन्त्यतिर १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक इनिङ खेले । धलिवालले २७ बलमा ४ चौकासहित ३२ र र हेलिगर ७ बलमा २ चौकासहित १३ रन बनाए।

बलिङमा नेपालका अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ तथा करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र सागर ढकालले समान १ विकेट लिए।

खेलमा आईसिसीको अफिसियलबाहेक पत्रकार र दर्शकलाई प्रवेश दिइएको थियो। खेलको प्रत्यक्ष प्रशारण पनि गरिएको थिएन। खेल हेर्ने आशासहित मैदानमा पुगेका नेपाली समर्थक निराश भएर फर्किएका थिए।

अब नेपालले दोस्रो वार्मअप खेल यही मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ।