एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल एले आयरल्यान्ड वुल्भ्सविरुद्ध अहिले फिल्डिङ गरिरहेको छ। त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड्स वुल्भ्सले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा आएको हो।
यसअघिका दुवै खेल हाल्र्दै सिरिज गुमाइरहेको नेपाल एले टिममा ४ परिवर्तन गरेको छ। नेपाल एले आरिफ शेख, बसिर अहमद, मौसम ढकाल र कमलसिंह ऐरीको स्थानमा रुपेश सिंह, विकाश आग्री, रञ्जित कुमार र अर्जुन कुमाल मौका दिएको छ। अर्जुनबाहेक अन्य तीन जनाले पहिलो पटक खेल्ने मौका पाएका हुन्।
नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो।
दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो। पहिलो खेलमा म्याथ्यु हम्फ्रेजले ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।