उत्कृष्ट सुरुआत गरेर पनि नेपाल ए आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पावर प्लेमै ८७ रन बनाए पनि नेपाल ए आयरल्यन्ड वुल्भ्स्सँग ४० रनले पराजित भयो।
३ खेलको टि–२० सिरिजमा लगातार दोस्रो हारसँगै नेपाल एले सिरिज गुमाएको छ। शुक्रबार भएको खेलमा नेपाल ए २१ रनले पराजित भएको थियो।
२२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल एका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। उनले २७ बलमा ७ चौका प्रहार गरे। उनले लोकेश बमसँग मिलेर पहिलो विकेटका लागि ३.१ ओभरमा ४७ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। लोकेशले १३ बलमा २५ रन बनाएर आउट भए।
त्यसअघि ब्याटिङका लागि आएका कप्तान विनोद भण्डारीले पनि आक्रमक ब्याटिङ गर्दै नेपालको इनिङ उकासे। विनोद र देवले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। विनोदले १३ बलमा २६ रन बनाए। यस्तै, बासिर अहमदले २३ बलमा २७ र आरिफ सेखले १० बलमा १४ तथा कलमसिंह ऐरीले ११ रन बनाए।
बलिङमा आयरल्यान्डका बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। यस्तै, फियोन हान्ड र थोमस मेयर्सले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्डले निल रक र पिटर मोरको आकर्षक अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा २२४ रन बनायो।
उसका लागि कप्तान निल रकले सर्वाधिक ७१ रन बनाए। उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरे। निल रकले सातौं विकेटका लागि फियोन हान्डसँग ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
यस्तै, पिटर मूरले पनि अर्धशतक बनाए। उनले २६ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए। यस्तै जेम्स म्याकुलमले १३ बलमा २६ र रोस अदिरले १७ रन बनाए।
बलिङमा नेपालका सागर ढलकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए भने पवन सर्राफ र कमलसिंह ऐरीले समान १ विकेट लिए।
सिरिजको अन्तिम खेल खेल सोमबार हुनेछ।