करणको विस्फोटक ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

3 Jun, 2025

आईसिसी विश्वकप लिग २ त्रिकोणातमक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपाली क्रिकेट टिमले सुखद सुरुआत गरेको छ। नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो।

स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेको क्षतिमा भेट्यो। यो नेपालले एकदिवसीय क्रिकेटमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो।

नेपाललाई जित दिलाउन करण केसीले विस्फोटक ब्याटिङ गरे। उनले नवौं नम्बरमा ब्याटिङ गर्दै उनले ४१ बलमा ३ चौका र ४ छक्का मद्दता ६५ रनको उत्कृष्ट पारी खेले। यो करणको एकदिवसीयको पहिलो अर्धशतक हो। अन्तिम २ ओभरमा जितका लागि २५ रन चाहिएको अवस्थामा करणले ४९औैं ओभरमा १८ रन प्रहार गर्दैै नेपाललाई जित नजिक लगेका थिए।

करण बाहेक कुशल भुर्तेलले ४४ बलमा ११ चौका प्रहार गर्दै ५३ रन बनाउँदा गुल्सन झाले ३० बलमा समान ३ चौका र छक्का मद्दतमा ४२ रन बनाए। यस्तै, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ सेखले २० रन बनाए।

बलिङमा स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले २ विकेट लिए भने ज्याक जार्भिस र माइकल लियस्कले समान २ विकेट लिए,

त्यसअघि टस हारेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो।

स्कटल्यान्डका ओपनर चार्ली टिएरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चार्लीले ७७–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति कप्तान रिची बेरिङ्टनसँग ७९ रनको साझेदारी गरेका थिए ।

कप्तान बेरिङ्टनले ४० रन थपे । यस्तै, फिनली म्याकार्थीले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए । म्याथ्यु क्रसले ३९ र ब्रान्डन म्याकमुलमले १९ रन जोडे।

नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले समान २ विकेट लिए । यस्तै, सन्दीप लामिछानेले एक विकेट लिए।

यो जितसँगै नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ । नेपालले प्रतियोगिताको १३ खेलबाट आठ अंक जोडेको छ । चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १७ खेलबाट २० अंक जोडेको छ।

नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो ।