महिला त्रिकोणात्मक सिरिजमा नेपाल थाइल्याण्डसँग पनि पराजित

1 Feb, 2025

नान्नापत खोन्चरोएन्कको अर्धशतकमा थाइल्याण्डले महिला त्रिकोणात्मक टी२०आई सिरिजमा नेपाललाई पराजित गरेको छ। प्रतियोगितामा यो थाइल्याण्डको लगातार दोस्रो जित हो।

थाइल्याण्डले शनिबार नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको १०२ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। थाइल्याण्डका लागि नान्नापतले नटआउट रहँदै सर्वाधिक ६० रन बनाइन्। उनले ५८ बलमा ६ चौका प्रहार गर्दै अर्धशतकी इनिङ खेलेकी थिइन्।

थाइल्याण्डका लागि सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रनको योगदान दिइन्।

नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुविना समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो।

नेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक समान २५ रन बनाए। कविताले ३२ बलमा २ चौका प्रहार गरिन् भने बिन्दुले २५ बलमा ३ चौका प्रहार गरेकी थिइन्। कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन्।

ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन् । पुजा महतो ६ तथा रुविना ४ रनमा आउट भइन्। कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भइन्।

थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ३, फन्नीता माया र नाट्टाया बुचाथमले समान २ तथा चानिदा सुत्थीरुआंगले १ रन जोडिन् । नेपालले चौथो भेटमा पहिलोपटक थाइल्याण्डविरुद्ध टि२०आईमा १ सय रन पूरा गरेको हो।

जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ। दुवै खेलमा पराजय बेहोरेको नेपाल अंकविहीन छ। आफ्नो तेस्रो खेल नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ भने थाइल्याण्डले सोमबार नेदरल्याण्ड्सको सामना गर्नेछ।

त्रिकोणात्मक सिरिजमा सहभागी तीन देशले एकअर्कासँग समान तीन खेल्नेछन्। तीन खेलको समाप्तिमा शीर्षस्थानमा रहने टिम च्याम्पियन हुनेछ। दुई खेल सकिँदासम्म दुवैमा जित निकालेको थाइल्याण्ड शीर्षस्थानमा रहेको छ।