सन्दीप अर्धशतक बनाउन १ रनले चुके, क्यानडालाई १८२ रनको लक्ष्य

23 Sep, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टोली क्यानडालाई १८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। आइतबार पनि नेपालको माथिल्लो र मध्यक्रम फ्लप भएपछि तल्लो क्रमले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो।

३६–५को दयनीय अवस्थबाट सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र करण केसीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको उद्दार गरेका थिए।

क्यानडाको किंग सिटीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन मात्र बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे। करिअरकै उत्कृष्ट इनिङ खेलेका उनले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यसअघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए।

यस्तै, गुलशन झाले ५६ बलमा ३४ रन बनाए। आठौं विकेटका लागि सन्दीपले सोमपाल कामीसंग मिलेर ५५ रनको महत्वपूर्ण साझेदारी गरे। सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भए।

करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरे । करणले २८ बलमा २४ रन बनाए। यी बाहेक अर्जुन साउद र आरिफ सेखले समान १० रन बनाए।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिए।