ब्याटिङमा नेपालको पुरानै कमजोरी, क्यानडसँग १०३ रनको ठूलो हार

17 Sep, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। क्यानडामा जारी सिरिजमा ब्याटिङमा पुरानै कमजोरी दोहो¥याएपछि नेपालले घरेलु टोलीसँग १०३ रनको फराकिलो अन्तरले पराजित भयो।

टस हारेर पहिला ब्याटिङ गर्दै क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.५ ओभरमा १५० रनमै अलआउट भयो। तल्लो क्रममा करण केसी र सन्दीप लामिछानेले केही योगदान दिएपछि नेपाल १५० सम्म पुगेको हो। नेपालको माथिल्लो र मध्यक्रम भने नराम्ररी कोल्याप्स भयो।

नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै, सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्का मद्दतमा २२ रन बनाए।

यी दुई बाहेक आसिफ सेखले २०, भीम सार्कीले १८ र गुल्सन झाले १५ रन बनाए। यस्तै, विस्फोटक ब्याट्सम्यानका रुपमा परिचित कुशल मल्ले ४१ बल खेलेर १२ रन मात्र बनाउँन सक्दा कुशल भुर्तेल १, कप्तान रोहित पौडेल ५, दीपेन्द्रसिंह ऐरी ८ रनमै आउट भए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा क्यानडाका डिलोन हेलिगरले घातक बलिङ गरे। उनले १० ओभरमा ३१ रन मात्र खर्चेर ५ विकेट लिए। एकदिवसीयमा उनको पहिलो ५ विकेट हल हो। यस्तै, एकदिवसीयमा डेब्यू गरिरेका अखिल कुमार र अन्स पटेलले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा २५३ रनको राम्रो स्कोर बनायो। अन्तिम १३ ओभरमा क्यानडाले विस्फोटक ब्याटिङ गरेको थियो । जहाँ उसले १२० रन बनाएको थियो। उसका कप्तान निकोलस क्रिटोनले विस्फोटन ब्याटिङ गर्दै ४४ बलमा ३ चौका र ६ छक्का मद्दतमा नटआउट ७३ रन बनाए।

यस्तै, हेलिगरले २७ बलमा ३० रन बनाउँदा साद विन जाफरले १३ बलमा १७ रन बनाए। यस्तै, ओपनर नवनित धालिवालले ९० बलमा ४८ र हर्ष थाकरले ६१ बलमा २७ रनको योगदान दिए।

बलिङमा नेपालका सोमपाल कामी र ललित राजवंशीले समान २ विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहितले समान १ विकेट लिए। नेपालले बलिङमा राम्रो सुरुआत गरेपछि डेथ ओभरमा भने त्यसलाई निरन्तरता दिन सकेन।

नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ। नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ।

अब नेपालले बुधबार ओमानसँग खेल्नेछ ।