आसन्न एसिसी प्रिमियर लिग र टि–२० विश्वकपको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टि–२० सिरिजमा विजयी सुरुआत गरेको छ।
दुई प्रतियोगिताको तयारीका लागि भारत भएको नेपाली टिमले गुजराज र बरोडासँग त्रिकोणात्मक टि–२० सिरिज खेलिरहेको छ। आइतबार भएको खेलमा नेपाल गुजरातमाथि ८ विकेटको सहज जित निकाल्यो।
आइतबार साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले दिएको ९९ रनको नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाए भने अनिल साहले ३२ रन बनाए।
त्यस्तै, कुशल भुर्तेलले १७ र आशिफ सेखले १६ रनको योगदान दिए। बलिङमा गुजराजतका तेजस पटेल र हेमांग पटेलले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै ९८ रन बनाउन सक्यो। उसका लागि ओपनर रुद्र पटेलले २३, हेमांग पटेलले २०, अभिषेक देसाईले ११ र र समित पटेलले १० रनको योगदान दिए।
गुजरातलाई सस्तैमा समेट्ने क्रममा नेपालका युवा अलराउन्डर गुल्सन झाले ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। यस्तै, करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए।
सिरिजकाे दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ ।