युवा अलराउन्डर गुल्सन झाले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपनि नेपाल आईसिसी विश्व लिग–२को दोस्रो सिरिजमा लागतार दोस्रो खेलमा पराजित भएको छ। गुल्सनको उत्कृष्ट प्रर्दशनका बाबजुद नेपाल बुधबार राति भएको खेल ओमानसँग १ विकेटले पराजित भयो।
नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए भने कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए।
यस्तै, कप्तान अकिब इलियासले २९, प्रतिक अथावाले र सोइब खानाले समान २६ रन बनाउँदा खालिद काइल र सकिल अहमदले समान १७ रन बनाए।
बलिङमा नेपालका गुल्सन झाले ५ विकेट लिए। यो उनको करिअरकै उत्कृष्ट बलिङ स्पेनल हो। यस्तै, करण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो। नेपालको सुरुआत राम्रो नभएपनि मध्यक्रममा कप्तान रोहितकुमार पौडेल, गुल्सन झा र आरिफ सेखले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले २ सयको आँकडा पार गरेको थियो। नेपालले सुरुआती ३ ब्याट्सम्यान भने ३३ रन बनाउँदै गुमाएको थियो।
त्यसपछि रोहित आरिफ चौथो विकेटका लागि ८१ महत्वपूर्ण साझेदारी गरेका थिए। रोहितले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको रन बनाए भने आरिफले ८८ बलमा १ चौका मद्दतमा ३५ रन बनाए।
त्यसपछि आएका गुल्सन झाले आक्रामक इनिङ खेले। उनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाए। उनले एकै ओभरमा २३ रन बनाएका थिए। यस्तै, सोमपाल कामीले ८ बलमा २० रन बनाउँदा सन्दीपले ११ रन बनाए।
बलिङमा ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले समान २ विकेट लिँदा सकिल अहमद र शोएब खानले समान १ विकेट लिए।
लिग–२मा खराब प्रदर्शन गेको नेपाल ६ खेलमा २ अंक मात्र छ। नेपाल पुछारबाट दोस्रो स्थानमा छ। ओमान ५ अंकसहित नेपालभन्दा एक स्थानमाथि छ। नेदरल्यान्ड्स ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ।