आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दै । क्यानडाको किङ सीटीमा हुने खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ।
यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो। त्यसैले नेपाल क्यानडासँग गरेको गल्ती सच्याउँदै मैदानमा उत्रनुपर्ने छ।
क्यानडाविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा गल्ती गरेको थियो। यदि ओमानविरुद्ध जित निकाल्ने हो भने ती गल्ती आज गर्ने छुट नेपाली खेलाडीलाई हुनेछैन।
बलिङमा नेपालले डेथ ओभरमा सुधार गर्नुपर्ने देखिएको छ। क्यानडाविरुद्ध ३७ ओभरसम्म खेल नेपालको पकडमा थियो। तर, त्यसपछि १३ ओभरमा क्यानडाले १२० रन बनाउँदै नेपाली बलरलाई नराम्ररी कुटेको थियो।
यस्तै, कप्तान रोहितकुमार पौडेलले बलर चलाउँदा पनि ध्यान दिनुपर्ने देखिएको छ। क्यानडाविरुद्ध उनले अनावश्यक धेरे बलर परिवर्तन गर्न खेल नेपालको हातबाट टाढा भएको थियो।
ब्याटिङमा भने नेपाली ब्याट्सम्यालने आफ्नो नेचुरल खेल खेल्नुपर्ने देखिएको छ। सुरुआतमै विकेट जाँदा नेपाली मध्यक्रम बढी दबाबमा देखिएको छ, त्यसलाई सुधार गर्नुपर्छ। त्यही दबाबले गर्दा क्यानडाविरुद्ध विस्फोटक छवि बनाएका कुशल मल्लले ४१ बलमा १२ रन मात्र बनाएका थिए।
नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् ।
विदेशी भूमिमा सधैं कमजोर देखिँदै आएको नेपालले आफ्नो छवि परिवर्तन गर्न पनि आज जित निकाल्नै पर्छ।
क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।
ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ।