नेपाल टि २० विश्वकपको तेस्रो खेलमा दक्षिण अप्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको छ। शनिबार बिहान सेन्ट भिसेन्टमा भएको खेलमा ११६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो।
१८ र १९औं ओभरमा ६ बल अन्तरमा ३ विकेट गुमाएपछि सहज अवस्थामा रहेको नेपालले दबामा परेको थियो। १० बलमा १६ रन चाहिएको अवस्थामा सोमपलले १९ औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै नेपालको आशा जिवितै राखेका थिए।
नेपाललाई अन्तिम ओभरका जितका लागि ८ रन चाहिएको थियो। ओटनिल ब्याटमनको सुरुआती २ बलमा गुल्सन झाले कुनै रन लिन सकेनन्। तेस्रो बल गुल्सनले चौका प्रहार गर्दै नेपालको आशा जिवित राखेका थिए। अर्को बलमा २ रन लिएपछि नेपाललाई अन्तिम २ बलमा २ रन चाहिएको थियो। तर, त्यसपछि पाँचौं बलमा गुल्सनले रन लिन सकेनन्। अन्तिम बलमा पनि ब्याटमा बल नलागेपनि गुल्सनले १ रन लिने प्रयास गरेका थिए। तर, उनी रनआउट हुँदा नेपाल १ रनले पराजित भयो।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ४२ रन बनाए। उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै, अनिल शाहले २४ बलमा ३ चौका र १ छक्का माद्दतमा २७ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ३६ बलमा ५० रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा लगेका थिए। त्यसपछि लगातार विकेट गुमेको थियो।
दक्षिण अफ्रिकाका लागि तब्राइज साम्सीले ४ ओभरका १९ रन मात्र खर्चेर ४ विकेट लिए भने एनरिच नोर्किया र एइडम मारक्रमले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए।
ट्रिस्टन स्टब्सले २७, माक्ररम १५ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
दक्षिण अफ्रिकालाई सस्तैमा रोक्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।
यो हारसँगै नेपालको सुपर ८ पुग्ने सम्भावना सकिएको छ। यता, समूह डीमा दक्षिण अफ्रिकाले भने चारवटै खेल जित्यो।