वेस्टइन्डिज एविरुद्धको टि–२० सिरिजको तेस्रो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपाल ब्याटिङ नचल्दा ७६ रनले पराजित भयो।
पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको २२८ रनको विशाल लष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमै अलआउट भयो। नेपालका लागि करण केसी र लोकेश बमले सर्वाधिक २८ रन बनाए। करणले १७मा ३ चौका र १ छक्का प्रहार गर्दा लोकेशले २९ बलमा १ चौका र २ छक्का प्रहार गरे।
यस्तै, कुशल मल्लले ११ बलमा २ चौका र १ छक्का मद्दतमा २०, विनोद भण्डारीले १५ बलमा १९ र अनिल साहले १० बलमा १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
बलिङमा वेस्टइन्डिजका लागि हैडन वाल्सले ३ तथा गुडाकेश मोटीले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले जोन्सन चार्ल्सको शतक मद्दतमा ३ विकेट गुमाउँदै २२७ रन बनायो।
वेस्टइन्डिजका लागि अघिल्लो खेलमा खासै नचलेका जोन्सन चार्सले ६१ बलमा १३ चौका र ७ छकका प्रहार गर्दै नटआउट ११९ र रन बनाए। यस्तै, आन्द्र फ्लेचरले ३३ बलमा ४ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
यी दुई बाहेक अलिक एथान्जले १९ बलमा १७, फाबियन एलेनले १९ र किमो बपलले १३ रन बनाए। बलिङ करण केसी र सागर ढकालले समान १ विकेट लिए।
यो जितसँगै ५ खेलको सिरिजमा वेस्टइन्डिज एले २–१को अग्रता लिएको छ। सिरिजको पहिलो खेल नेपाल र दोस्रो खेल वेस्टइन्डिज एले जितेको थियो।