विश्वकपको तयारीका लागि अमेरिका अभ्यास गरिरहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यासन खेलमा जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रनमात्रै बनाउन सक्यो।
अन्तिम ओभरमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो। तर, सो ओभरमा करण केसीले ३ रनमात्र दिएर १ विकेट लिँदै नेपाललाई ६ रनको जित दिलाए।
हरिकेन्सबाट लाहिरु मिलान्थाले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए भने अली शेख २३, स्मित पटेल १९ र आर्कषित गोमेल १८ रन बनाए।
बलिङमा नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने करण केसीले २ तथा रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले समान एक विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका तेस्रो नम्बरका ब्याटर अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए।
दुवै ओपनर सस्तैमा आउट भएपछि दबाबमा आएको नेपालका लागि अनिल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। रोहितले २३ रन बनाए। यस्तै, गुलशन झा १८ बलमा ३ चौकासहित २०, सन्दीप जोरा १५ बलमा २१ रन बनाए।
ह्युस्टनका ट्रम्प, अली शेख र जिया जाहजादले समान एक विकेट लिए।
नेपालले दोस्रो खेल शनिबार ह्यस्टनसँग नै खेल्नेछ।