नेपाल र ओमानबीचको खेल रद्द, नेपालले जोड्यो १ अंक

25 Sep, 2024

आईसिसी विश्वकप लिग–२को दोस्रो सिरिजमा नेपालले १ अंकमा चित्त बुझाएको छ। सिरिजभरि खराब ब्याटिङ गरेको नेपालले ओमानविरुद्धको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि १ अंक जोडेको हो।

क्यानडाको ओन्टेरियोस्थित किंग सिटीमा नेपाल र ओमानबीचको खेलको वर्षाका कारण टस समेत नभइ रद्द भएको हो।

यसअघि नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको छ। यस्तै, तेस्रो खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो।

यो सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको क्यानडा लिग–२मा ११ खेलमा ७ जितसहित १४ अंकसहित शीर्ष स्थानमा छ। ८ खेलमा १२ अंकसहित अमेरिका दोस्रो स्थानमा छ। ओमान ६ अंकसहित छैठौं र नेपाल ८ खेलमा ३ अंक जोड्दै सातौं स्थानमा छ।

शीर्ष चारमा रहने टिमले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन् भने छैठौं र सातौं स्थानमा रहने टिमले प्लेफ खेल्नेछन्।

यो सिरिज पछि नेपाले क्यानडामै ओमान र क्यानडासँगै त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम लिग–२को तेस्रो सिरिजका लागि उतैबाट अमेरिका जानेछ।